Logo

काँग्रेसमा यीमध्ये कस्ले बोक्ला ‘हिन्दुराष्ट्र’ को मुद्दा ?



काठमाडौं, २८ कात्तिक । नेपाली काँग्रेस नेतृत्वको सरकारका पालामा २०७२ सालमा संविधान जारी भएको थियो । संविधानमा देशमा धर्मनीरपेक्ष, गणतन्त्र र संघीयताको प्रणाली उल्लेख छ । तर, काँग्रेसभित्र यी तीनवटै विषयमा असन्तुष्टिहरु बढ्दै गएको छ ।

विशेषगरी काँग्रेसभित्र धर्मनीरपेक्षविरुद्ध एउटा समूह सक्रिय छ । विगतमा खुमबहादुर खड्काले हिन्दु राष्ट्रको एजेन्डालाई उठाएका थिए । उनको निधनपछि यो मुद्दा सेलाएको थियो । पछि खड्कानिकट मानिएका शंकर भण्डारीले केन्द्रीय कमिटी बैठकमा यसलाई उठाएका थिए । उनले पार्टीभित्र हस्ताक्षर नै संकलन गरे ।
काँग्रेसभित्र हिन्दु राष्ट्रको मुद्दा फैलदै गयो । तर, कुनैपनि प्रभावशाली नेताले यसलाई खुलेर बोक्ने आँट गरेका छैनन् ।

कोइराला परिवारका सदस्यमध्ये डा. सशांक कोइराला र डा. शेखर कोइरालाले हिन्दु राष्ट्रको मुद्दालाई व्यक्तिगत रुपमा उठाएका थिए । तर, महामन्त्री सशांक कोइराला पछि हटिसकेका छन् । केन्द्रीय सदस्य शेखर कोइरालाले यो मुद्दाप्रति पर्ख र हेरको नीतिमा छन् । उनले पनि विगतमा यसप्रति नरम विचार राखेका थिए । सुजाता कोइराला यो मुद्दाप्रति मौन छिन् । उनले उचित समयमा मुख खोल्ने बुझिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा धर्मकर्ममा खूबै लागेका थिए । देउवा पत्नी आरजुले धार्मिक गतिविधिको तस्बिर र भिडियो सामाजिक सञ्जालमा खूबै राखेकी छिन् । यो आफैमा सन्देश हो । तर, देउवा धर्मबारे खुलेका छैनन् । उनले हिन्दुराष्ट्रको मुद्दा बोक्ने सम्भावना लगभग देखिदैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला धर्मनीरपेक्षको पक्षमै छन् । उनीहरु हिन्दुराष्ट्रप्रति सकारात्मक छैनन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह धर्मबारे मौन बस्न थालेका छन् । उनले पनि मन्दिर यात्रा गरेको तस्बिरहरु बेला बेलामा पोष्ट गर्छन् । यसलाई अर्थपूर्ण मानिएको छ । उनी पनि पर्ख र हेरको नीतिमा देखिएका छन् ।

उपसभापति विमलेन्द्र निधिले पछिल्लो समय धार्मिक गतिविधिहरु देखाए । उनले सभापतिको उम्मेदवारी घोषणा गर्दा हिन्दु र बौद्ध धर्मगुरुहरुबाट आशिर्वाद लिएर गरेका थिए । निधि धर्मको मामलामा विस्तारै यु टर्न हुँदै गएको बुझिएको छ । उनी पनि पर्ख र हेरको रणनीतिमा छन् ।

अहिले काँग्रेसभित्र कुनैपनि प्रभावशाली नेता हिन्दुराष्ट्रको पक्षमा खुलेका छैनन् । सभापतिका आकांक्षीमध्ये कसैको पनि एजेन्डा हिन्दुराष्ट्र देखिएको छैन । तर, यो मुद्दा उठाउने साहस या दुस्साहस कस्ले गर्ला ?

काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले जस्ले हिन्दुराष्ट्रको एजेन्डा बोक्छ उही सभापतिमा विजयी हुने ठोकुवा गरेका छन् । उनको भनाईमा दम छ । काँग्रेसमा ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि भएर आउनेहरु हिन्दु राष्ट्रको पक्षधर हुने देखिएको छ । तर, उनीहरुको नेतृत्व लिने र एजेन्डालाई कार्यान्वयनमा लान जोखिम मोल्ने प्रभावशाली नेता अझै देखिएका छैनन् । सभापतिका आकांक्षीमध्ये देउवा, पौडेल, सिंह, कोइराला परिवारका सदस्य, निधि र सिटौलामध्ये एकले यो एजेन्डा उठाउँदा मात्र माहोल फरक हुन सक्छ । यीमध्ये कोही अगाडि बढ्ने सम्भावना अझै देखिएको छैन । तर, राजनीतिमा असम्भव भन्ने छैन । हिन्दुराष्ट्र वा धर्मनीरपेक्ष हटाउने एजेन्डा देउवा, सिंह या कोइराला परिवारका सदस्यमध्ये कुनै एकले उठाउने सम्भावनालाई नकार्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्