काठमाडौं, ३० कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । विप्लवका कार्यकर्ताले बन्द अवज्ञा गर्नेमाथि बल प्रयोग गरेका छन् ।
काठमाडौं उपत्यकामा विप्लवका कार्यकर्ताले मोटरसाइकलमा झण्डा राखेर बन्द गराउँदै हिडेको देखियो । उनीहरुले बल प्रयोग समेत गरेर बन्द गराएका थिए ।
बन्द गराउँदै हिड्ने विप्लवका कार्यकर्ताहरु देशका शहरी क्षेत्रबाट पक्राउ परे । उपत्यका, काभ्रेलगायतका स्थानमा बढी गिरफ्तारी भएको थियो ।
ललितपुरबाट नेकपा सेक्रेटरी रमेश डंगोल, कालिबाटीबाट श्रमिक समुदाय मोर्चा काठमाडौंका सदस्य राज गजमेर र जमलबाट अखिल क्रान्तिकारीका सुवास महत गिरफ्तारीमा परे ।
साँखु र महाराजगन्जमा पनि गिरफ्तारी भयो । नेकपाका कार्यकर्ताहरु रामकृष्ण गिरी, भुवन तामाङ, सुकबहादुर तामाङसहित ६ जना गिरफ्तारीमा परे ।
काभ्रेबाट विदुषी, कास्कीमा काजी गुरुङ, अखिल क्रान्तिकारीका युवराज पनि गिरफ्तारीमा परे ।
सिन्धुलीबाट विप्लवका २६ जना कार्यकर्ता पक्राउ परे । पक्राउ पर्नेहरुमा तेज लामा, मिम ऐडीलगायत छन् ।
रुकुममा १३ जना पक्राउ परे । पक्राउ पर्नेहरुमा मोतिराम खड्का, सोमपाल कामीलगायत छन् ।
विप्लवले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिविरुद्ध आज नेपाल बन्दको आव्हान गरेको हो । बन्दका कारण शैक्षिक संघसंस्था बन्द रहे । यातायात पनि बाटोमा पातलो देखिए ।