काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसको ६१ जिल्लाको प्रदेश क्षेत्र अधिवेशन सुरु भएको छ । अधिवेशनबाट प्रदेशका सभापतिसहित पदाधिकारी र प्रतिनिधि चयन हुनेछन् ।
काँग्रेस महाधिवेशनमा वडाबाट प्रतिनिधि चयन भई पालिका तहको अधिवेशन सकिइसकेको छ । वडा प्रतिनिधिले पालिका, प्रदेश क्षेत्र, निर्वाचन क्षेत्र र जिल्ला सभापति तहसम्म मतदान गर्न पाउनेछन् । वडा तहबाट छानिएका प्रतिनिधिमा कस्को कति शक्ति भन्ने आजको चुनावबाट देखिदैछ ।
प्रदेश क्षेत्रको अधिवेशन सकिएपछि क्षेत्र अनि जिल्ला अधिवेशन हुनेछ । काँग्रेसका सभापतिलगायत पदाधिकारीका आकांक्षीहरुले प्रदेश अधिवेशन सकिएपछि क्षेत्र वा जिल्ला तह नपुग्दै कित्ता स्पष्ट पार्ने देखिएको छ ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटोलाका अलावा केन्द्रीय सदस्यहरु सुजाता कोइराला र डा. शेखर कोइराला मुख्य आकांक्षी छन् । यी दाबेदारमध्येबाट धमाधम कित्ताकाट चल्ने निश्चित छ ।
शक्ति बाँडफाँडबाट मिलाउन सबै दाबेदार लागेका छन् । देउवाले पौडेल, कोइराला र सिंहको साथ लिने प्रयास गरिरहेका छन् । पौडेल पनि कोइराला र सिंहको साथ लिने प्रयासमा छन् । सिंह भने पौडेल र कोइराला परिवारलाई आफूले पटक पटक त्याग गरिसकेकाले अब आफ्ना लागि पनि त्याग देखाउन भनिरहेका छन् । कोइराला परिवार एकजुट हुन प्रयासरत छ । तर, सफल भइरहेको छैन ।
काँग्रेसभित्र देउवा इतर समूह एक नभए उनको जितको सम्भावना बलियो छ । तर, इतर समूहका पौडेल, सिंह र कोइराला परिवार एकजुट भएमा देउवालाई सभापति जित्न मुश्किल पर्न सक्छ ।