काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता महेश आर्चायले नेता आचार्यले अदालतभित्र अहिले देखिएको विवादको विषयमा अब दलहरुले बोल्न ढिलो गर्न नहुने जिकिर गरे । उनले न्याय क्षेत्रमा गम्भीर भ्रष्टाचारको समस्या, विचौलियाहरुको बिगबिगी, मुद्दाको व्यापार हुने परिस्थिति देखाईएको यो गम्भीर विषय भएको टिप्पणी गरे ।
प्राइम टाइम्स टेलिभिजिनबाट हिजो राति प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले भने,‘यो विषय यसरी उठ्नु, यो समस्या यसरी देखिनु हाम्रो लोकतन्त्रमा एउटा गम्भीर समस्याको संकटतर्फ अभिमुख भएको संकेत हो । त्यसैले संसद नचालिरहेको अवस्था, न्याय क्षेत्र अस्तव्यस्त भएको परिस्थिति छ, यसले लोकतन्त्रका आधारभूत स्तम्भ कमजोर भएको छ। यो विषयमा पार्टीले नबोलेर सुख छैन् ।’
गुटगत राजनीतिले नेपाली काँग्रेसलाई कमजोर बनाएको भन्दै यसलाई हटाएर पार्टीलाई वैचारिक बहसतिर सुढृत बनाउने उद्देश्यले उपसभापतिमा उमेद्वारी घोषणा गरेको बताएका छन् । उनले विचार र नीतिबेगरको नेता चयन गर्ने प्रवृत्ति पार्टीमा मौलाएको समेत टिप्पणी गरे । ‘गुटगत राजनीतिले संगठनमा अस्वस्थ प्रतिस्पर्धा र पार्टीको आन्तरिक लोकतन्त्रको क्षयिकरण हुने प्रवितृ ल्याएको, त्यसलाई निराकरण गर्ने एउटा इमानदार प्रयत्न गर्नुपर्ने आवस्यकता रहेको’, उनले भने ।