काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री दुईपटक विदेश जाँदा निमित्तको जिम्मेवारी सिनियर एआइजीलाई नदिई जुनियरहरुलाई दिन पुगेका छन् । उनीपछिको वरियतामा रहेका एआइजी हरिबहादुर पालले दुवैपटक निमित्त पाएनन् ।
थापा गत हप्ता भारत भ्रमणमा गएका थिए । त्यतिबेला उनले तेस्रो वरियताका एआइजी प्रद्युम्न कार्कीलाई निमित्तको जिम्मेवारी दिए । एआइजीहरु हरि पाल र निरजबहादुर शाही असन्तुष्ट भई बिदामा बसेका थिए ।
यसपटक फेरि थापाले पाललाई निमित्तको जिम्मेवारी नदिई शाहीलाई दिए । उनले आफूसँगै इन्टरपोलको महासभामा एआइजी कार्कीलाई लगे । कार्की उनका नजिकका नातेदार पनि हुन् ।
प्रहरीमा पछिल्लो समय आइजीपी थापा र एआइजी पालबीच द्वन्द्व बढ्दै गएको छ । पालको अहिलेको सत्तासँग नजिकको सम्बन्ध छ । उनले प्रहरीमा आफ्नो प्रभाव बढाएका छन् । कतिपय सरुवामा माथिल्लो निकायमा प्रभाव बनाएर असजिलो पारेको भन्दै आइजीपी थापा असन्तुष्ट रहेको बुझिएको छ ।
पाललाई कुमार पौडेल इन्काउन्टरमा समस्या पार्न खोजिएको थियो । त्यसपछि थापासँग पाल असन्तुष्ट भए । थापा बढी लोकप्रीय हुने स्वभावका रहेको र प्रहरीको कार्यशैलीभन्दा फरक तरिकाले प्रस्तुत हुन खोजेको भन्दै पूर्व प्रहरी उच्च अधिकृतहरु पनि असन्तुष्ट बन्न थालेका छन् ।
यता पालले आइजीपी थापालाई हटाउन राजनीतिक लबिङ गरेको चर्चा पनि प्रहरीभित्र चलेको छ । यसकारण पनि थापा सतर्क छन् । तर, अर्को वर्ष आइजीपी थापासहित ३ एआइजी सेवानिवृत्त हुने भएकाले सरकारले चलाउने सम्भावना कम छ ।