काठमाडौं, ५ मंसिर । कुमारी बैंकविरूद्ध आज नेपाल भ्यालुयर्स एसोसिएसनले विरोध प्रदर्शन गरेको छ । बैंकले गलत नियतले मूल्याङ्कनकर्ता इन्जिनियरलाई जेल हालेको विषयमा मूल्याङ्कन कार्यमा संलग्न व्यक्तिहरूको उपस्थितिमा विरोध कार्यक्रम सम्पन्न भएको हो ।
बैंकले उपलब्ध गराएका कागजपत्रका आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणिलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता ईन्जिनियरबाट परिपुर्ति गर्ने विषयलाई विरोधस्वरूप आज विरोध कार्यक्रमको आयोजना गरिएको एशोसिएशनले जनाएको छ ।
गहनापोखरीबाट शुरू भएको विरोध कार्यक्रम कुमारी बैंकको केन्द्रीय कार्यालय, भटभटेनीमा पुगेर धर्ना दिएर कोण सभामा परिणत भई गहनापोखरीमा पुगेर समापन गरिएको थियो । एसोसिएसनले विभिन्न मागहरू सहित ईन्जिनिर राजेश कुमार चौरसीयालाई निर्शत रिहाईको माग गदै विभिन्न चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गदै आइरहेको छ । एसोसिएशनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।
विरोध प्रदशर्नका कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष ऋषि कोइरालाले आन्दोलनको क्रममा चौरासियाको कुनै कमजोरी नभएकाले तत्काल रिहाई गर्न माग गरे । बैंकमा रहेका माफियाहरुले गरेको गलत कामका कारण चौरासिया पक्राउ परेको भन्दै बिना शर्त रिहा गनुपर्ने उनको भनाई छ ।
‘लोन लिने एउटा, लोन दिने एउटा’ उनले भने ‘यसमा इन्जिनियरको केही भूमिका छैन । हामी इन्सायेरेन्स कम्पनी होइनौं हामीले केही गल्ती नै नगरी कारबाही भोग्नु कानूनसंगत छैन ।’ माफियालाई लोन दिने अनी मूल्याङकनकर्ताले तिर्नुपर्ने काम गराउन खोजेको भन्दै यो आन्दोलन अब निर्णायक हुने बताए ।
कुमारी बैंकको प्रधान कार्यालयमा आज बिहान १ घन्टा विरोध प्रदर्शन गरेका एसोसिएशनका अधिकारीहरुले आगामी दिनमा बैंकर्स संघमा पनि धर्ना दिने सचिव दिनेशकुमार पाठकले बताएका छन् । उनले उक्त जग्गा प्रकरणमा बैंकको हात रहेको भन्दै कायम मुकायम सीइओ अनुजमणी तिमल्सिनालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । चौरसीयालाई गत कात्तिक २२ मा अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।