काठमाडौं, ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले जस्तोसुकै कठिन परिस्थितिको सामना गरेर भएपनि पार्टी नछाड्ने सन्देश दिएका छन् । आज उनले १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै त्यस्तो सन्देश दिएका हुन् ।
रावलले आफ्नो विचारधारा, योजना र लक्ष्य समेत स्पष्ट पार्ने गरी एजेन्डा सार्वजनिक गरे । उनले अध्यक्षमा उम्मेदवारी दिनुको कारण हारजीत भन्दा एमालेमा विधान र विधि अनुसार मजबुत तरिकाले पार्टीलाई अगाडि बढाउन भएको विषय राखे ।
विगतमा ओलीविरोधी समूहका नेताका रुपमा चिनिएका रावलले त्यो धार छाडेनन् । उनले न एमाले छाडे न ओलीसँग लड्न छाडे । १० बुँदे सहमति कार्यान्वयनमा आवाज उठाइरहे ।
ओलीसँग एमाले अध्यक्षका लागि प्रतिष्पर्धा गर्दा जित्ने सम्भावना छैन भन्ने जान्दा जान्दै रावल उठेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । उनले एमाले छाड्ने विश्लेषण भइरहेको थियो तर छाडेनन् ।
कतिपयले रावलले वरिष्ठ उपाध्यक्ष दाबी गरेको समेत भने । तर, उनले अध्यक्षको उम्मेदवार भएको प्रष्ट पारेका छन् । उनले ओलीसँग लड्न नछाड्ने र एमाले पनि नछाड्ने सन्देश प्रवाह गरेका छन् ।