काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा रणनीतिका साथ बढेका छन् । त्यसका लागि उनले यो हप्ता पर्खने बुझिएको छ ।
क्षेत्रीय अधिवेशनहरुबाट महाधिवेशन प्रतिनिधि चयन भएलगत्तै कस्को शक्ति कति भन्ने लेखाजोखा हुन्छ । बढी निर्वाचन क्षेत्र भएका र बढी महाधिवेशन प्रतिनिधि चयन हुने जिल्लाहरुबाट प्रतिनिधि धेरैजसो भोलि चयन हुनेछन् । त्यसपछि देउवा प्रभावशालीहरुलाई तान्ने कसरतमा लाग्ने बुझिएको छ ।
देउवाको ध्यान बढी पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, वर्तमान महामन्त्री डा. सशांक कोइरालातर्फ देखिन्छ । काँग्रेसभित्र कोइराला परिवार, सिंह र सिटौलाको बढी प्रतिनिधि चयन हुने देखिदैछ । उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छेदारको पक्षका प्रतिनिधि पनि बढी हुने अवस्था देखिदैछ ।
काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा प्रकाशमान सिंहको पकड देखिएको छ । पूर्वका जिल्लाहरुमा कोइराला परिवारको, प्रदेश २ मा विमलेन्द्र निधिको, पूर्वका केही जिल्लाहरुमा कृष्णप्रसाद सिटौलाको पकड बन्ने संकेतहरु देखिएको छ ।
लुम्बिनीमा बालकृष्ण खाँडको पकड बन्ने अवस्था छ । उनी देउवालाई साथ दिने पक्षमा छन् ।
अहिले देउवाको साथमा प्रभावशाली नेताहरुमा महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य बालकृष्ण खाँडमात्र खुलेका छन् । विमलेन्द्र निधिले साथ छाडेका छन् । विजयकुमार गच्छेदार बोलेका छैनन् ।
देउवाले सभापति जित्नका लागि अहिलेको शक्ति मात्र पर्याप्त छैन । उनले प्रकाशमान सिंहसहित अर्को कुनै हस्ती नेताहरु तान्नुपर्ने हुन्छ । या कोइराला परिवारका एकजना सदस्यसहित केही हस्ती तान्नुपर्ने हुन्छ । कृष्णप्रसाद सिटौलाका अलावा अर्को हस्ती तानेमा पनि जितको सम्भावना बलियो रहन्छ ।
तर, देउवाविरुद्ध कोइराला परिवार, सिंह र निधि एकजुट भएमा देउवाका लागि सभापति दोहोरिने सम्भावना कमजोर हुनसक्छ । त्यतिबेला रामचन्द्र पौडेल पनि ब्याक हुनसक्छन् । यसकारण देउवाले इतर समूहलाई विभाजित बनाउने रणनीति बनाउन सक्छन् ।
इतर समूहका नेताहरुमध्येबाट कसैलाई तान्न छुट्टाछुट्टै भेटघाट चलाएका छन् । उनले महामन्त्री सशांक कोइरालासँग बालुवाटारमा भेटेका छन् । केही हप्ता अघि प्रकाशमान सिंहलाई भेटेका थिए । देउवाका लागि कम्तिमा कोइराला परिवारका एक सदस्य या सिंहमध्ये एकलाई तान्नुपर्ने अपरिहार्य बनिसकेको छ । यसमा सफल नभएमा उनलाई यसपटक सभापतिको चुनाव कठिन हुनसक्छ ।