काठमाडौं, मङ्सिर ६ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज हुँदै छ । महाधिवेशनमा नेतृत्व छनोट गर्न आउने प्रतिनिधि यही अधिवेशनबाट निर्वाचित भएर आउने भएकाले सबै नेताको ध्यान यो अधिवेशनमा केन्द्रित छ ।
कार्यतालिकाअनुसार आज ५८ जिल्लामा क्षेत्रीय अधिवेशन हुँदै छ । साथै यी जिल्लाको एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको प्रक्रिया पनि आजै अघि बढाइँदै छ ।
क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट हुने भएकाले आफ्नो पक्षका प्रतिनिधि निर्वाचित गर्न नेताहरूले भरपुर शक्ति प्रयोग गरिरहेका छन् । मंसिर २४ देखि २६ सम्म हुने कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि आउनेछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन्। उनले पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मत रूपमा चयन गर्न आग्रह गर्दै त्यसो नभए स्वच्छ प्रतिस्पर्धाबाट चयन गर्नसमेत अनुरोध गरेका छन् ।