डडेल्धुरा, मंसिर ७ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए। बमकाअनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो। देउवाले शतप्रतिशत मत भने पाएनन्।
महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुबर भट्ट र सुरेशराज जोशी विजयी भएका छन्।
यसैगरि डडेल्धुरा जिल्ला बाट महाधिवेशन प्रतिनिधिमा आरजूराणा देउवा सर्वसम्मत चयन भएकि छन्। खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।
महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्नराज भट्ट निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट ९जोशी०, पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित भएका छन्।
दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेसी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत निर्वाचित भएका छन्।
समावेशी जनजाती महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ख अल्पसंख्यक तर्फ जय प्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएका केन्द्रिय निर्वाचन प्रतिनिधि तथा निर्वाचन अधिकृत बमले जानकारी दिए।
निवर्तमान सभापति कर्ण मल्ल समूहले भने क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै अधिवेशन प्रक्रिया बहिस्कार गरेको थियो। डडेल्धुरामा पुनःनिर्वाचन हुनुपर्ने माग राखेर मल्ल समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ। सोमबार मल्ल पक्षले जिल्ला अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएको छ।