एजेन्सी, १० मङ्सिर।: दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट हङकङमा समेत भेटिएको छ । केही दिनअघि भल्भ भएको मास्कको कारण संक्रमण सरेको पाइएका व्यक्तिमा उक्त भेरियन्ट देखिएको हो ।
पहिलोपटक हङकङमा उक्त संक्रमण देखिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । बिहीबार हङकङको स्वास्थ्य विभागले संक्रमितको जिनोम सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट पुष्टि भएको हो ।
उक्त भेरियन्ट सबैभन्दा धेरै उत्परिवर्तित (म्युटेट) भएको बताइएको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘न्यु’ नाम दिन सक्ने अनुमान छ । अहिलेसम्म विश्वभर उक्त भेरियन्ट नौ जना मानिसमा देखिएको छ। जसमध्ये ६ जना दक्षिण अफ्रिका र तीनजना बोत्स्वानामा नागरिक छन् ।
अहिलेसम्म उक्त भेरियन्टबारे स्पष्ट जानकारी आइसकेको छैन । तर, उक्त भाइरस सबैभन्दा धेरै उत्परिवर्तित भएकाले धेरै संक्रामक पनि हुन सक्ने वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् । अहिले भेटिएको नयाँ भेरियन्टमा कोरोना भाइरसमा ३२ प्रोटिन म्युटेसन देखिएको छ ।-Photo: Agency