चितवन, ११ मङ्सिर । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा महिला कोटा बढाइएको छ । अब एमालेमा १०१ जना महिलाको सहभागिता हुने भएको छ । यसअघि गोदावरी विधान महाधिवेशनले केन्द्रीय कमिटीमा ७५ जनामात्रै महिला रहने व्यवस्था गरेको थियो । तर, शुक्रबार राति चितवनको सौरहामा बसेको केन्द्रीय कमिटी बैठकले महिलाको उपस्थिति बढाएर १०१ पु¥याएको हो ।
दुई महिना पहिले पारित विधानले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । २२५ सदस्यीय कमिटीमा ७५ जना महिलाको सिट सुनिश्चित थियो । तर, शुक्रबारको बैठकले विधान संशोधन गर्दै केन्द्रीय कमिटीको सङ्ख्या बढाएर ३०१ बनाउने निर्णय लिएको छ । यो निर्णयसँगै अब केन्द्रीय कमिटीमा महिलाको संख्या १०१ पुग्ने भएको छ ।
केन्द्रीय कमिटीको सङ्ख्या थपिएसँगै महिलाको कोटा बढेजस्तै आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, मजदुर, पिछडिएको क्षेत्रको कोटा पनि बढ्ने भएको छ । ७५ जना महिला, २२ जनजाति, १६ मधेसी, १० दलित, ६ थारु, ५ मजदुर, ४ मुस्लिम, ३ पिछडिएको क्षेत्र र ९८ जना खुल्लातर्फको कोटा तोकेको थियो ।