काठमाडौं, ११ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ प्रतिष्पर्धी देखिएका छन् । पोखरेलले अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारीका रुपमा आफूलाई प्रस्तुत गर्न थालेका छन् । नेम्वाङले केही दिन अघि नै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसके ।
पोखरेल र नेम्वाङ दुवै मैदान छाड्न तयार छैनन् । वरिष्ठ उपाध्यक्ष बन्नु नै ओलीको उत्तराधिकारी बन्नु हो भन्ने बुझाई रहेकाले दुवै ‘गर या मर’ को लडाईमा देखिन्छन् । तर, ओलीले हस्तक्षेप गरेर दुई मध्ये एकलाई ब्याक गराउने सम्भावना छ ।
पोखरेल एमालेका महासचिव हुन् । उनी नवौं महाधिवेशनमा ओली समूहबाट निर्वाचित भएका थिए । एमालेमा बलियो पकड बनाएका पोखरेल उपप्रधानमन्त्री भइसकेका छन् । उनमा संगठनमा पकड बनाउने खूबी छ ।
नेम्वाङ स्थायी कमिटी सदस्य हुन् । ओलीको भित्री सर्कलमा रहेका नेम्वाङ पूर्वसभामुख हुन् । लामो समय शक्तिमा रहेर अनुभव बटुलेका उनी कूटनीतिक चार्तुयता भएका नेता हुन् ।
ओलीले नेम्वाङलाई पहिलो रोजाईमा राख्न सक्छन् । तर, पोखरेलको पकड बलियो भएको र कठिन घडीमा साथ दिएकाले सजिलो छैन । अब ओलीले सहमति बनाउन नसके पोखरेल र नेम्वाङबीच चुनावी प्रतिष्पर्धा हुनसक्छ ।
अध्यक्षमा ओलीविरुद्ध भीम रावल उत्रिने भएका छन् । उनी कुनै हालतमा ब्याक नहुने घोषणासहित काठमाडौंबाट चितवन पुगेका हुन् ।