Logo

राजनीतिक संस्थाप्रति जनविश्वास कमजोर हुँदैः सभामुख सापकोटा



काठमाडौं, मंसिर १३ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान अवस्थामा लोकतन्त्र चुनौतीरहित नरहेको बताएका छन् । स्पेनमा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को ‘लोकतन्त्रको समकालीन चुनौतीः विभाजनमाथि विजय र समुदाय निर्माण’ विषयक सभालाई सम्बोधन गर्दै उनले राजनीतिक संस्थाप्रति अहिले जनविश्वाससमेत कमजोर भइरहेको बताएका हुन् ।

सम्बोधनमा सापकोटाले भने, “इतिहासदेखि नै मानिसहरूले निर्णय प्रक्रियामा सहभागिताका लागि प्रयास गरेका छन् । यसले बताउँछ कि लोकतन्त्र किन शासनको अन्तिम स्वरूपका रूपमा विकसित भएको छ किनभने यसले व्यावहारिक रूपमा सम्भव भएसम्म राष्ट्रिय नीति निर्माणमा मानिसलाई धेरै भूमिका दिन्छ । शासनको सबैभन्दा मनपर्ने स्वरूपका रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित छैन ।”

नेपालमा संविधान सभाले सहभागितामूलक र समावेशी लोकतन्त्रका आधारभूत कुरालाई समेट्ने अधिकारमा आधारित नयाँ संविधान जारी गरेको पनि उनले स्मरण गराए । नेपाल समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित समाज स्थापना गर्न पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले संविधान जारी भएपछि तीनै तहको निर्वाचनमा संविधानको उक्त दर्शनलाई आत्मसात् गरिएको पनि बताए।

उनले भने, “तीनै तहको शासन व्यवस्थामा समावेशी लोकतन्त्रको दर्शनलाई आत्मसात् गरिएको छ । अहिले सङ्घीय संसद्मा एक तिहाइ तथा प्रदेश र स्थानीय तहमा झन्डै ४१ प्रतिशत महिला छन् । यी सकारात्मक कार्यले सीमान्तकृत समुदायलाई साथमा लिएर प्रतिनिधित्व गर्ने शासन संरचना सिर्जना गरेको छ ।”

सभामुख सापकोटाले आईपीयू असाधारण मञ्च भएको बताउँदै समकालीन मुद्दामा छलफल गर्न पनि आग्रह गरेका छन् । विश्वभरका विधायक र नीति निर्मातालाई एकसाथ छलफलमा ल्याउन सक्ने मञ्च आईपीयू भएको पनि उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्