काठमाडौं, १४ मंसिर । नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।
अध्यक्ष केपी शर्मा ओलीले तयार गरेको सूचीलाई सदर गराएर सर्वसम्मत गराउन खोजेपछि रावलले दिएनन् । उनले चुनावमा जान वाध्य बनाए । त्यसकारण पनि उनले निर्वाचनमा जानुपर्छ भन्ने आफ्नो धारणा अनुरुप भएकोमा एउटा मुद्दाले जितेको तर्क गरे ।
निर्वाचन नै नगर्ने ओलीको प्रयास भने रावलले विफल पारे । जसका कारण ओलीको सूचीमा नअटाएका कतिपय निर्वाचित भए । यो ओलीले जे भन्यो त्यही मात्र हुन्छ भन्ने धारणामाथिको धक्का हो ।
रावलले जति मत पाउँछन् त्यो ओलीप्रतिको असन्तुष्टिको हुनेछ । यो उनका लागि शक्ति सञ्चयको नयाँ सुरुवात हुनेछ ।
एमालेभित्र ओली पक्षधर भई अवसर नपाएकाहरुलाई रावलले भविष्यमा तान्न सक्छन् । असन्तुष्टहरुलाई विस्तारै समेटेर शक्ति सञ्चय गर्ने उनको रणनीति देखिन्छ ।
विगतमा ओलीले पनि माधव नेपालसँग लामो संघर्ष गरेका थिए । नेपालबाट किनारामा पारिएका ओलीले निकै संघर्ष गरेर शक्ति सञ्चय गरेका थिए । रावल अब त्यही शैलमिा अगाडि बढ्न खोजेका छन् । उनी एमालेभित्र पदाधिकारी र केन्द्रीय सदस्य चयनमा चुनावको वाध्यकारी अवस्था बनाउन सफल भएका छन् । एमालेभित्रको लोकतन्त्रलाई ढल्न नदिन सफल भएका छन् । यसकारण उनले विजेताको शैलीमा चुनावपछि बोले । हार्ने जान्दा जान्दै उम्मेदवारी दिएर नैतिक जित हासिल गरे ।