काठमाडौं, १६ मंसिर । पशुपति विकास कोषमा नियुक्ति पाइसकेकी सहारा न्यौपानेलाई रोक्ने खेलहरु भएका छन् । उनलाई सरकारले नियुक्ति नै गरिसक्दा बदर गर्ने खेल भएको हो ।
पशुपति विकास कोषको स्वामित्वमा रहेको गोठाटारको बालुवाखानीमा आँखा लगाएका माफियाहरुले रोक्ने खेल गरेका हुन् । साहारा आर्थिक रुपमा विचलित नहुने स्वभावको भएकाले उनलाई हटाएर पैसाको चलखेल गर्नेहरुलाई ल्याउने प्रयास भएको छ ।
सहारालाई रोक्न एउटा समूह नै नेकपा एकीकृत समाजवादीको नेतृत्वसम्म प्रभाव बनाउन लागिपरेको छ । संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई समेत दबाब दिएर सहाराको ठाउँमा अर्को व्यक्ति ल्याउने चलखेल भएको हो ।
कोषमा सहाराको नियुक्ति बदर रोकेर शशि पाण्डेलाई ल्याउने खेल भएको हो । पाण्डेलाई ल्याउन ठूलो गिरोह नै लागेको छ । बालुवाको दोहन गरी मोटो रकम असुल्ने उद्देश्यले सहाराको ठाउँमा पाण्डेलाई राख्न उक्त गिरोह अहोरात्र नेकपा एसका नेताहरुको घरमा धाउन थालेको छ ।