Logo

साउदी अरेबिया र युएईमा पनि देखियो ओमिक्रोनको पहिलो केस



१६ मङ्सिर : साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ । उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो । ’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् । सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ ।

छिमेकी राष्ट्र संयुक्त अरब इमिरेट्सले पनि आफ्नो देशमा पहिलो ओमिक्रोन केस पत्ता लागेको जनाएको छ । “एउटी अफ्रिकी महिला अफ्रिकी देशबाट अरब देश हुँदै आएकोमा उक्त भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले ट्विटरमार्फत जानकारी दिएको छ । यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकाले घोषणा गरेको थियो तर पछि युरोपमा पहिले नै रहेको पत्ता लागेको छ ।

यस नयाँ भेरियन्टले पुनः विश्वभरका यात्रा प्रतिबन्धहरू लागू गर्न प्रेरित गरेको छ । साउदी अरेबियाले गत हप्ता सात दक्षिणी अफ्रिकी देशहरूबाट उडानहरू रोकेको थियो । अन्य कैयौ देशले पनि दक्षिणी अफ्रिकी देशहरुबाट उडानहरू रोकेका थिए । साउदी अरेबियामा महामारीको सुरुमा लगाइएको केही बाँकी प्रतिबन्धहरू हटाइरहेको थियो । मुस्लिम पवित्र स्थानहरूमा पूजा गर्नेहरूलाई अक्टोबरदेखि काँधमा काँध मिलाएर प्रार्थना गर्न पुनः सुरु गर्न अनुमति दिइएको थियो ।

करिब ३ करोड ५० लाख जनसङ्ख्या भएको यस देशमा कोभिडको ४ करोड ७० लाखभन्दा बढी डोज खोप दिइएको छ । महामारी सुरु भएदेखि, साउदी अरेबियामा कोविड–१९ को पाँच लाख ४९ भन्दा बढी सङ्क्रमति भएका छन् । जसमध्ये ८ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।युएईमा करिब ७ लाख ४२ हजार २०० सङ्क्रमति भएका छन् भने यसको सङ्क्रमणबाट २ हजार १०० भन्दा बढीको मृत्यु भएको छ ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्