काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेस प्रदेश नं १ को अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । कोइराला परिवारको गढ मानिएको पूर्वका जिल्लाहरुमा यसपटक सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटैलाको प्यानलले मिलेर धक्का दिन खोजे ।
मोरङ जिल्ला अधिवेशनमा देउवा-सिटौला प्यानलले कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्न खोजेपनि सफलता हासिल भएन । सुनसरीमा पनि कोइराला पक्ष बलियो भए ।
प्रदेश क्षेत्र र क्षेत्र हुँदै जिल्ला अधिवेशनमा पुग्दा प्रदेश १ को १४ जिल्लामध्ये ८ जिल्लामा संस्थापनका देउवा-सिटौला प्यानलले जिल्ला सभापतिमा जित हासिल गरेको थियो । ६ जिल्लामा संस्थापन इतर समूहले जित हासिल गर्यो ।
तर, पूर्वका दुई ठूला जिल्ला मोरङ र सुनसरीमा संस्थापन इतरको कोइराला निकट सभापतिले जित हासिल गरेका थिए । प्रदेश क्षेत्रहरुमा पनि संस्थापन इतर समूह बलियो देखिए ।
संस्थापन इतर पराजित भएको झापा र उदयपुरमा पनि महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधि उल्लेख्य संख्यामा विजयी भए ।
२८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा बहुमत निर्वाचन क्षेत्रहरुमा संस्थापन इतर समूह बलियो देखिएको छ । संस्थापन इतर समूहबाट बढी महाधिवेशन प्रतिनिधिहरु चुनिएका छन् । प्रदेश निर्वाचन क्षेत्रमा पनि संस्थापन इतरबाट बहुमत संख्यामा प्रतिनिधि चयन भएका छन् ।
कुल १६७१ जनाले मतदान गर्ने प्रदेश सभापतिमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो प्रदेशबाट देउवा समूहबाट दुईजना शक्तिशाली मन्त्रीहरु छन् । ज्ञानेन्द्रबहादुर कार्की सञ्चार र डा. नारायण खड्का परराष्ट्रमन्त्री छन् । यसले पनि चुनावमा असर गर्न सक्छ ।
प्रदेश १ कोइराला परिवारका लागि प्रतिष्ठाको विषय बनेको छ । त्यहाँ देउवा सिटौला पक्षबाट उद्धव थापा उम्मेदवार बनेका छन् । तर, संस्थापन इतर समूहबाट गुरुराज घिमिरे र राजीव कोइरालामध्ये एक उम्मेदवार बन्दैछन् । यी दुईमध्ये जो उम्मेदवार बनेपनि संस्थापन इतर समूहका कोइराला पक्षधरको शक्तिको मापन गर्ने भएकोले महत्वका साथ हेरिएको छ ।
कोइराला परिवारका डा. शेखर कोइराला र सुजाता कोइराला प्रदेश चुनावमा विराटनगरमा खटिएका छन् । उनीहरुले प्रदेश १ मा आफू पक्षधर उम्मेदवारलाई दिलाउने मतले पनि काँग्रेसको भावी नेतृत्वको दौडलाई नयाँ गति दिनसक्छ । कोइराला परिवारका लागि प्रदेश १ को सभापतिको चुनाव आफैमा परीक्षा बनेको छ ।