काठमाडौं, १७ मंसिर । दोस्रो कार्यकालका लागि नेपाली काँग्रेसको सपभापति बन्न भरमग्दूर प्रयास गरिरहेका शेरबहादुर देउवालाई आफ्नै गुट व्यवस्थापन चुनौती बनेको छ । इतर समूहले पकड बढाउने गरी चुनावमा माहोल तयार गरेको छ ।
१६ जिल्लाबाहेक देशभरको वडा देखि जिल्ला तहसम्मको अधिवेशनमा इतर समूहबीच खासै फाटो देखिएन । अलग उपगुटहरु भएपनि इतर समूह सबैजसो जिल्लाहरुमा मिलेर चुनाव लडे । नुवाकोटबाहेकका जिल्लामा इतर समूहबीच फाटो देखिएन ।
देउवाइतर समूहले मिलेर चुनाव लडेकाले जिल्ला अधिवेशनसम्म पुग्दा महत्वपूर्ण सफलता हासिल गरे । देउवा समूहमा भने वडा देखि जिल्ला तहसम्म फाटो देखियो । त्यसको असर प्रदेशहरुमा उम्मेदवार तय गर्दा देखिएको छ ।
देउवा समूहबाट कर्णाली र सुदूरपश्चिम प्रदेशमा सभापतिको उम्मेदवार तय गर्न मुश्किल परेको छ । कञ्चनपुरमा एनपी साउद र रमेश लेखकबीच टकराव देखियो । ललितपुरमा उदय शमशेर राणा र मदनबहादुर अमात्यबीच विवाद देखियो । देउवा समूहभित्रको विवादले इतर समूहले निकै फाइदा गर्न सक्यो ।
देउवा पक्षमा विगतमा रहेका उपसभापति विमलेन्द्र निधिले अलग समूह बनाइसकेका छन् । उनले समूह छाड्दाको असर प्रदेश २ मा देखिएको छ । प्रदेश २ को ८ जिल्लामा ३२ निर्वाचन क्षेत्र भएकाले त्यो मत महत्वपूर्ण हुन्छ । देउवालाई प्रदेश २ मा सबैभन्दा ठूलो चुनौती देखिएको छ ।
देउवाले प्रदेश १ मा महत्वपूर्ण सफलता हासिल गरे । कोइराला परिवारको गढ रहेको उक्त क्षेत्रमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग मिलेर देउवा समूहले फाइदा लिन सकेको छ ।
काठमाडौं उपत्यकामा प्रकाशमान सिंहले पकड बढाउँदा देउवा र सिटौला दुवै समूह खुम्चिएका छन् । यसको असर काभ्रे र धादिङमा पनि देखियो । गगन थापाले सिटौला समूह छाडेपछि नयाँ माहोल तयार भएको छ ।
विजयकुमार गच्छेदार देउवाको पक्षमा अझै खुलेका छैनन् । उनको मत महत्वपूर्ण सावित हुन सक्छ । बरु सिटौला देउवासँग समिकरण बनाएर जानसक्ने अवस्था विकास भएको छ ।
झापामा कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्माबीच टकराव देखियो । सिटौलालाई देउवाले साथ दिएको बुझेपछि शर्मा रुष्ट छन् । उनी विस्तारै देउवाबाट टाढिइरहेको बुझिएको छ ।
देउवाले निधिले गुट छाड्दा र गच्छेदार नखुल्दा धेरै नोक्शानी भोग्नुपरेको देखिएको छ । निधि साथमा रहेर गच्छेदार खुलेको भए प्रदेश १ र २ मा देउवाको अहिलेभन्दा बढी पकड बन्न सक्थ्यो ।