काठमाडौं, १७ मंसिर । दश वर्षे जनयुद्धका क्रममा दुईवटा छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्र (माके) को केन्द्रीय सल्लाहकारको जिम्मेवारी पाएका छन् ।
नेकपा माकेको पछिल्लो स्थायी समितिको बैठकले बस्नेतलाई सो जिम्मेवारी दिएको हो । नेकपा माकेको विधानअनुसार केन्द्रीय सल्लाहकारलाई केन्द्रीय सदस्यसरहको सम्मान दिइएको छ ।
बस्नेतले विगतमा माओवादीको झापा जिल्ला सदस्य, कोचिला राज्य समितिको सल्लाहकार, बेपत्ता योद्धा परिवार समाजका संस्थापक सहसंयोजकलगायतका पदमा रही भूमिका निर्वाह गरेका थिए ।
बस्नेत विगतमा माओवादीको तत्कालीन हेटौंडा महाधिवेशन प्रतिनिधि र विराटनगर राष्ट्रिय सम्मेलन प्रतिनिधिको रूपमा समेत सहभागी थिए । विक्रम सम्वत् २०६० देखि बस्नेतका माहिला छोरा पुष्पराज बस्नेत र कान्छा छोरा धीरेन्द्र बस्नेत नेपाली सेनाको भैरवनाथ गणबाट हालसम्म बेपत्ता बनाइएका छन् । जनयुद्धकालमा राज्यपक्षबाट बेपत्ता पारिएका सबैलाई सार्वजनिक गराउन माग गर्दै भएको आन्दोलनमा बस्नेतले लामो समयसम्म नेतृत्व गरेका थिए ।