काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले यथास्थितिमा एमसीसी यही रुपमा स्विकार गर्न नसकिने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टीको स्थायी कमिटी बैठकले पटक पटक अहिलेको अवस्थामा एमसीसी पारित गर्न नसकिने भनेर निर्णय गरिसकेकोले यो भन्दा बाहिर गएर अरु केही हुन नसक्ने स्मरण गराए । उनले अहिले देशमा एकल पार्टीको सरकार नभएकोले गठबन्धनमा सहमति गरेर मात्रै एमसीसीजस्ता विषय अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले राष्ट्रिय आत्मसमर्पणवादको दिशातर्फ प्रधानमन्त्री शेरबहादुर देउवा नजानेमा आफू विश्वस्त रहेको सुनाए । उनले अमेरिकाले के भन्छ ? वा भन्दैन् ? भन्ने कुरा प्रधान कुरा नभएको सुनाए । उनले एमसीसी अनुदान हो भने किन दबाब दिएको ? भन्दै प्रश्न गरे । उनले विदेशी अनुदान र वैदेशिक सहायता सदनबाट अनुमोदन गरेको देखाउन पनि चूनौति दिए ।