दीपेश केसी, समाचार विश्लेषण । राजेन्द्र लिङ्देनको जीत अपेक्षित नै थियो । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी दिनु भने धेरैका लागि अनपेक्षित थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २०७४ को चुनावमा सुन्य हुनबाट जोगाउने लिङ्देन नै थिए । यसले उनको राजनीतिक उचाई ह्वात्तै बढायो । लिङ्देनले सदनमा राप्रपाको मुद्दालाई बुलन्द बनाइराखे । उनले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई निरन्तर उठाइराखे । यसमा कत्तिपनि डगमगाएनन् ।
कतिपयले लिङ्देनले पार्टी फुटाउने र अर्को पार्टीमा प्रवेश गर्ने चर्चा पनि गरे । उनी मन्त्री बन्न जुनसुकै कदम चाल्ने अवस्थामा पुगेको हल्ला पनि पिटाइयो । तर, लिङ्देनको चट्टाने अडान डगमगाएन । आफ्नो राजनीतिक आस्थाप्रति विचलित भए । शतिशाल जस्तै उभिएर रहे । जसले उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो निर्वाचित जनजाति अध्यक्ष बनायो ।
लिङ्देनको विजय राष्ट्रिय राजनीतिमा सामान्य विषय होइन । मूलधारको प्रमुख राजनीतिक शक्तिमध्येमा कुनै जनजाति पहिलोपटक निर्वाचित अध्यक्ष बनेका छन् । त्यो पनि हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा बोकेको दलमा ।
पछिल्लो समय जनजातिहरु हिन्दु धर्मप्रति वितृष्णा बढेको र राजसंस्थाप्रति कोही विरोधी छन् भने जनजाति नै मुख्य हुन् भन्ने सन्देश प्रवाह गरिएको थियो । तर, हिन्दु धर्म र राजसंस्थाविरोधी संघसंस्थाका अगुवाहरु कुनै जनजातिभन्दा कथित ठूलो जातिकाहरु नै छन् भन्ने हेक्का धेरैले बिर्सिए । लिङ्देनको जीतले जनजाति समुदायले नै हिन्दु र राजसंस्थाको मुद्दाको नेतृत्व गर्दैछ भन्ने सन्देश प्रवाह भएको छ ।
लिङ्देन राप्रपाभित्र तेस्रो पुस्ताका नेता हुन् । पहिलो पुस्ताका सुर्यबहादुर थापाको निधन भइसकेको छ । लोकेन्द्रबहादुर चन्द खासै सक्रिय छैनन् । दोस्रो पुस्ताका पशुपति शमशेर जबरा, डा. प्रकाश चन्द्र लोहनी र कमल थापालगायत हुन् । उनीहरुले पनि राप्रपालाई मजबुत बनाउन सकेनन् । उमेर र परीक्षण भइसकेका नेता भएकाले राप्रपाभित्र नयाँ पुस्ताको नेतृत्वको चाहना बढिरहेको थियो ।
सुरुमा धबल शमशेर राणाले नेतृत्वको जमर्को गरेका थिए । तर, उनी महामन्त्रीमा रहेर लिङ्देनलाई साथ दिन तयार भए । यी दुईको समिकरणले सफलता हासिल गर्यो । लिङ्देनले बाजी मारे ।
सालिन स्वभावका लिङ्देनले अध्यक्षको उम्मेदवारी घोषणा गर्दा आफूले कमल थापा, पशुपति शमशेर र प्रकाशचन्द्र लोहनीलाई असफल भएको नभन्ने बताएका थिए । जिम्मेवारी आफूहरुलाई दिएर अभिाभावकत्व ग्रहण गर्न भने । प्रधानमन्त्री पनि आफूहरु नबने र थापा, राणा र लोहनीमध्येबाट बन्नका लागि तयार हुन भने । यो अभिव्यक्तिले पनि युवा मतदाता आकर्षित भए ।
अर्कोतर्फ, देशमा दलहरुभित्र नयाँ नेतृत्वको चाहना बढेको सन्देश गयो । राप्रपाको चुनावी परिणामले हरेक दलमा नयाँ नेतृत्वको चाहना देखाइरहेको छ । यसको असर नेपाली काँग्रेसको सभापतिको निर्वाचनमा पनि पर्न सक्छ ।
राजनीतिमा साहस, सुझबुझ र आन्तरिक व्यवस्थापन चाहिन्छ भन्ने लिङ्देनको जीतले देखाएको छ । उनले कमल थापा जस्तो लामो समय शक्तिको अभ्यास गरेको हस्तीसँग चुनाव लड्ने आँट गरे । सही समयमा सही निर्णय गरे । सुझबुझका साथ बढे । आन्तरिक व्यवस्थापन गरेर डा. लोहनी देखि खाट्टी राजावादीको साथ लिन सके । यसमा उनी सफल भए ।
लिङ्देनको जीतसँग अबको दिनमा चुनौती उत्तिकै छ । उनी इतिहास बनिसकेको हिन्दुराष्ट्र र राजसंस्थालाई फर्काउने कठिन र जोखिमयुक्त मुद्दा बोकेर बढ्दैछन् । यो मुद्दाप्रति उनी कति इमान्दार हुन्छन् ? यसलाई अगाडि बढाउने क्रममा कस्तो रणनीतिक चार्तुयता देखाउन सक्छन् ? जनजाति समुदायको साथ कत्तिको लिन सक्छन् ? यक्ष प्रश्न बनेको छ । लिङ्देन राप्रपाको देखाउने अनुहार त भइसके अब उनले कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी गरी तीनैजनाको साथ कसरी लिन सक्छन् ? बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान जस्ता पाका नेताहरुले उनलाई कसरी स्वीकार्छन् ? त्यो पनि चासोको विषय छ ।
तर, लिङ्देन जितिसकेका छन् । राप्रपाको मुद्दा कसैलाई मन परेपनि नमनपरेपनि लिङ्देनको जीतले मजबुत बनाइदिएको छ । यसले देशभित्र मात्र नभई बाह्य जगतमा पनि चासो बढेको छ । लिङ्देनले अहिले प्राप्त विजयको ऊर्जालाई बचाउँदै बढ्ने चुनौती भने छ । कुनैपनि मुद्दाप्रति नेता इमान्दार र चट्टाने अडान लिएर बढ्छ भने सफलता टाढा हुनेछैन । लिङ्देनमा त्यो क्षमता छ या छैन ? परीक्षण हुँदै जाला । तर, लिङ्देनको जीतले नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दाले फेरि ऊर्जा प्राप्त गरेको तथ्य र तथ्यांकहरुले पनि देखिएको छ । अग्रगमन र प्रतिगमनको ब्रान्ड दिएर विरोध या समर्थन गर्नु अर्को विषय हो । तर, लिङ्देनको जीत अग्रगमनकारी दाबी गर्ने दलका टेष्टेड नेताहरुका लागि चुनौती बनेर तेर्सिएको छ । अग्रगमन भन्ने तर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण वा विकासको कुनै भूमिका नखेल्ने प्रवृत्तिमाथि चुनौती बनेको छ ।