काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर गरेको आन्दोलन गलत भएको भन्दै तत्काल फिर्ता लिन माग गरे । उनले भने,‘नेपाल बारले जुन प्रकारले आन्दोलन गरिरहेको छ, यसले राम्रो सन्देश गएको छैन् । यसले न्यायसेवा प्रभावित भएको छ । प्रधानन्यायधीशले मात्रै राजीनामा दिएर न्याय प्रणालीमा सुधार हुन्छ र ? हिजो असार २८ गते परमादेश जारी गर्दा के त्यसमा प्रधानन्यायधीशमात्रै संलग्न हुनुहुन्थ्यो र ? बारले जुन आन्दोलन अगाडि बढाएको छ, त्यसलाई नेपाली जनताले सकारात्मक रुपमा लिएका छैनन् । राजीनामा दिनैपर्छ भने प्रधानन्यायधीशले मात्रै किन राजीनामा दिने ? विवादित कुरामा संलग्न सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ । कसैलाई बलीको बोको बनाएर, कसैको ईच्छा होला प्रधानन्यायधीश बन्ने, कसैलाई यो सोच होला, न्यायालयले राम्रो काम गरेन भनेर हिजो आलोचना भएको थियो । हिजोको रहस्य अहिले खुलेको छ। परमादेश जारी गरेर गुण लगाएको र तिर्छु भनेर नेताहरुले भनेको पनि सुनियो । अब कसरी गुण तिर्नुहुन्छ, होला केहीलाई राजीनामा गराउने होला, कसैलाई प्रधानन्यायाधीश बनाउने होला । नेपाल बारले यो आन्दोलन फिर्ता लिनुपर्छ ।’
आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले देशमा न्याय सेवा पनि प्रभावित भएको र यसको कारण वर्तमान सरकार नै भएको पनि दाबी गरे । उनले भने,‘न्यायसेवा अवरुद्ध भएको छ, यो सरकारको कारणले हो । अपवित्र गठबन्धनले कसरी न्याय प्रणालीले प्रयोग गरेको हो ? भन्ने कुरा छर्लङ भएको छ। सारा नेपालीले बुझेका छन् कि षड्यन्त्र गरेर ओलीको सरकारलाई हटाएको कुरा बुझिसकेका छन् । कुनैपनि क्षेत्रमा यो सरकार सफल र स्थापित हुन सकेन । विदेश नीतिमा यो सरकार केही तयारी नगरीकन अघि बढ्यो । बिना तयारी अमेरिका, बेलायत र चीनबाट राजदूत फिर्ता गरेको छ, तर तुरुन्तै राजदूत पठाउन सकेन । धेरै कमजोरी छन् ।’
सरकारले एमसीसीको एजेण्डा संसद्मा ल्याएपछि मात्रै आफ्नो पार्टीले आधिकारिक धारणा बनाउने सुनाए । उनले भने,‘पहिले सरकारले एमसीसी एजेण्डा ल्याओस, त्यसपछि मात्रै हामीले आफ्नो प्रतिक्रिया दिन्छौं । देश र जनताको अहित हुनेगरि कुनैपनि सम्झौता पास गर्न दिँदैनौं । देश र जनताको हितमा छ भने राम्रै कुरा हो । राष्ट्रिय सहमति गरेर एमसीसी सदनमा पेश भयो भने एउटा वातारण बन्छ, होईन राष्ट्रिय सहमति नगरी पेश भयो भने पास हुन गाह«ो छ।’
महासेठले आफूहरुले भर्खरै हाीले १०औं राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गरेको र यो ऐतिहासिक रुपमा सम्पन्न भएको बताए । उनले भने,‘हाम्रो १०औं राष्ट्रिय महािधवेशलेन देशमा एउटा सन्देश दिएको छ–अहिले पार्टीबाट केही नेताहरु चोईटिएर गएपनि अहिलेपनि एमाले यो देशको मूल प्रवाह र पार्टीको रुपम अघि बढेको छ। एमालेबाहेक अरु कुनैपनि पार्टीले वामपन्थी शक्ति र कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्दैन् भन्ने सन्देश पनि यो महािधवेशनबाट गएको छ । एमाले विभाजन भएको धेरै दिन भएको थिएन, तर हामीले ऐतिहासिक महाविधेनश सम्पन्न गरेका छौं । बन्दसत्र र खुल्लासत्रले के स्थापित गरेको छ भने अब एमाले विभाजनले पनि खासै फरक गरेको छैन् । नेपालको ईतिहासमा यत्रो मानवसागर कहिल्यैपनि देखिएको थिएन । विधान महाधिवेशनअनुसार नयाँ नेतृत्व चयन गर्ने काम गरेको छ । हाम्रो पार्टीको वर्तमान नेतृत्वले यो देशलाई नयाँ दिशातर्फ हाँकेर अघि लैजानेछ। कम्युनिष्ट आन्दोलनसँगै नेपालको विकास र समृद्धि, सामाजिक सद्भावलाई, राजनीतिसँगै कसरी समेटेर लैजाने भनेर अहिले त्यो जिम्मेवारी एमालेको काँधमा आएको छ ।’
उनले एमाले विभाजन हुने सम्भावना नरहेको पनि दाबी गरे । उनले भने,‘अब एमाले विभाजन होला भन्ने सम्भावना छैन् । एमाले एकताबद्ध रुपमा अघि बढिरहेको छ । पराजित भएका साथीहरु पनि पार्टी बलियो बनाउन लाग्नुभएको छ । अब पार्टी विभाजनको त टाढा–टाढा पनि त्यस्तो सम्भावना छैन ।’