Logo

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ



काठमाडौं, २० मंसिर । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस–१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरु मध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्