Logo

भूपेन्द्र बडुवाल हत्या प्रकरणः कैलालीका ग्याङस्टरहरुको पर्दाफास



काठमाडौं, २० मंसिर । कैलालीमा २३ कात्तिकमा भूपेन्द्र बडुवाल हत्या प्रकरणले लहरो तान्दा पहरो खसेको छ । त्यहाँको स्रोतमाथि कब्जा जमाउने प्रतिष्पर्धामा बनेको दुईवटा समूहकै सदस्यहरु धमाधम पक्राउ परेका छन् ।

कैलालीको लम्की, चीसापानी, टीकापुर मात्र नभई बर्दियाका ग्याङका सदस्यहरु समेत पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमा १२ जना सार्वजनिक गरिएका छन् । अझै ९ जना फरार छन् ।

कैलाली प्रहरी प्रमुख विश्व अधिकारीले पत्रकार सम्मेलनमा दुईवटा ग्याङले युवाहरुलाई परिचालन गर्दै आएको खुलाएका छन् । त्यहाँको नदीजन्य पद्धार्थ र ठेक्कापट्टामा वर्चश्व कायम गर्ने प्रतिष्पर्धाबारे पनि उल्लेख गरे ।

घटना हुनुमा नवीन रावल र जयन्द्र शाहले संचालन गरेको दुई ग्याङको विवाद मुख्य कारण देखिएको छ । रावल नै मुख्य अभियुक्त भएको र उनी फरार छन् । दुई समूहका युवाबीच बेला बेलामा झडप हुँदै आएको थियो ।

कैलालीमा मात्र नभई काठमाडौंमा समेत दुई समूहबीच झडप भएको खुलेको छ । नवीन रावलको समूहलाई काठमाडौंको कालीमाटी क्षेत्रमा खुकुरी प्रहार भएको थियो । हिमाल शाहीमाथि खुकुरी प्रहारपछि रावल समूह आक्रामक बनेको थियो ।

शाहीको हत्या गर्न जयन्द्र समूहले कपिल श्रेष्ठलाई खटाएको थियो । श्रेष्ठ मृतक भूपेन्द्र बडुवालका साथी थिए । नवीन रावलको समूहलाई आक्रमण गर्ने योजना श्रेष्ठले बनाएका थिए । उनीहरुले पटक पटक मौका कुरेको र २३ कात्तिकमा फुटबल मैदानमै आक्रमणको योजना बनाएका थिए । तर, नवीन रावल भेटिएनन् ।

मदन शाहीले नविन रावललाई जयन्द्रको समूह आक्रमणका लागि खोजीमा रहेको सूचना दिए । त्यसपछि हतियारसहित हिडेको नवीनको समूहले टीकापुरको जमला पुलछेउ भूपेन्द्रलाई भेटेका थिए । दुई किलोमिटरसम्म लखेटेपछि सिद्धार्थ होटल नजिकबाट मोटरसाइकल छाडेर आफन्तको घरमा भागेका थिए । तर, कौशीदेवी बिष्टको घर नजिकै भूपेन्द्रलाई घेरेर अन्धाधुन्दा प्रहार गरी भाग्छन् ।

आर्यन देवकोटाले अपराध स्वीकार गरेर अरु उम्कने योजना बनाउँछन् । त्यसपछि हत्यामा प्रत्यक्ष संलग्नहरु भारततर्फ भागेको प्रहरीले अनुसन्धानबाट पत्ता लागेको जनाएको छ । दुवै समूहका सदस्यहरुविरुद्ध काठमाडौंमा पनि विभिन्न मुद्दा परेको खुलेको छ । ज्यान मार्ने उद्दोग र हतियार खरखजानामा समेत मुद्दा परेको देखिएको छ ।

भूपेन्द्र बडुवाल भने झगडामा संलग्न भएको र कुनै मुद्दा दर्ता भएको नपाइएको प्रहरीले जनाएको छ । भूपेन्द्र अमेरिका जाने तयारीमा थिए । उनी तिहारमा पनि घर जाने कि नजाने दोधारमा थिए । चाँडबाँड भएको र विदेश जाने तयारीमा रहेकाले यसवर्ष घरमै रमाइलो गर्ने सोचले कैलाली पुगेका थिए । तर, उनी कहिले नफर्कने गरी हत्या गरिए ।

एकले अर्कामाथि आक्रमण गर्ने योजना पत्ता लागेपछि दुवै आफ्नो तयारीमा लागे । उनीहरु हतियारसहित सक्रिय हुन थाले ।



प्रतिक्रिया दिनुहोस्