Logo

सञ्चारमाध्यमले जनताका पक्षमा वकालत गर्नुपर्दछः प्रदेश प्रमुख गुरुङ



कास्की, २२ मंसिर । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सञ्चारमाध्यमले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा वकालत गर्नुपर्ने बताएका छन् । पोखराबाट नियमित प्रसारण सुरु गरेको सिटीवान टेलिभिजनको मङ्गलबार शुभारम्भ गर्दै उनले प्रेसले जनताको पक्षमा वकालत गर्ने दायित्व पूरा गर्न नसक्दासम्म लोकतन्त्र सवल हुन नसक्ने धारणा राखेको थिए ।

उनले भने, “अहिलेको प्रतिस्पर्धाका समयमा व्यावसायिक पत्रकारितासँगै मिडियाले सरकारले गरेका कमी–कमजोरी र निम्न तहका जनताका समस्या उजागार गर्नुपर्दछ ।” प्रदेश प्रमुख गुरुङले नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको अधिकार सुनिश्चित गर्ने काममा निकै अगाडि रहेको उल्लेखसमेत गरे । टेलिभिजनले मानवअधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यम खोल्ने प्रतिस्पर्धा रहेको अहिलेको समयमा व्यावसायिक पत्रकारिताको मर्म, सिद्धान्त र आदर्शलाई आत्मसात गरेर सञ्चालन गर्नु र अगाडि बढाउनु मुख्य कुरा रहेको बताए ।

यस्तै, सांसद खगराज अधिकारीले आम नागरिकको स्वतन्त्रताको मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान, प्रविधि तथा समाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले प्रदेशका समृद्धिमा टेलिभिजनले सघाउने विश्वास व्यक्त गरे ।

टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापतिले कोरोना त्रासका बीचमा पनि टेलिभिजन सञ्चालनमा ल्याउनु चुनौतीपूर्ण रहे पनि दूरदराजका आवाजविहीनहरूको आवाजलाई आम दर्शकमाझ ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए । टेलिभिजनका कार्यक्रमहरू विभिन्न सामाजिक सञ्जाल तथा मोबाइल एप्स, वेबसाइटमार्फत हेर्न सकिने प्रबन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्