बाजुरा, मंसिर २३ । बाजुराको जग्गनाथ गाउँपालिका वडा नम्बर ६ को काप्रिको गज्जेगार भीरमा मालवाहक सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कालिकोटबाट हुम्लातर्फ जाँदै गएको भे १ ख ३४६८ नम्बरको ट्रक आज विहान सडकबाट पाँच सय मिटर तल खसेको हो ।
दुर्घटनामा सवारी चालक र सहचालकको ज्यान गएको छ । प्रहरी कार्यालय जुड्डिका ईन्चार्ज प्रहरी नायव निरिक्षक विरसिंह ठग्गुनाले दुर्घटनामा ज्यान गुमाउँने चालक र सहचालक रहेको र उनीहरुको सनाखत भएको जनाएका छन् ।
दुर्घटनामा ट्रक चालक बाँकेको बैंजनाथ गाउँपालिकाका मोहन जोशी र सहचालक हुम्लाको ताँजाकोट गाउँपालिका बिपी शाहिको मृत्यु भएको ठगुन्नाले बताए । शाहि ट्रक साहुका सरोदर भाई रहेका छन् । दुबैजनाको शव पोस्टमार्टमका लागि कोल्टि लैजाने तयारी भईरहेको घटनास्थलमा रहेका ठगुन्नाले बताए। जिल्लाबाट प्रहरी निरिक्षकसहितको टोली घटनास्थल पुग्दै छ ।
बाजुरामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा एक हप्ता नपुग्दै सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढ्नुको कारण चालक र ट्राफिक प्रहरीको लापरबाही रहेको स्थानियले बताएका छन् ।
सवारी चालकले पैसा कमाउने लोपले क्षमता भन्दा बढी यात्रु हाल्नु र त्यसको निगरानी ट्राफिक प्रहरीले नगरी मुखदर्शक बन्नुले पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेको स्थानीयको दाबी छ ।