Logo

अनशनरत तारा बरालको जीवन रक्षाको लागि अभियन्ताहरुको अपिल



काठमाडौं, २३ मंसिर । ‘तारा बराल बचाउ अभियान’ ले सरकारसँग सामाजिक अभियान्ता तारा बरालका मागहरु अविलम्ब पूरा गरि उनको जीवनरक्षा गर्न माग गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले एमसीसी पूर्ण रुपमा खारेज गर्न, सर्वोच्च अदालत पूर्ण रुपमा सुचारु गर्न, सर्वोच्च अदालत अगाडि महिलामाथि दुव्र्यवहार गर्ने, अपशब्द बोल्ने, अदालत बन्द गराउने, सहकर्मी कुट्ने वकिलहरुलाई कानुनी कारबाहीलगायतका मागसहित वीर अस्पातालमा अनसनशरत अभियान्ता तारा बरालको जीवनरक्षा गर्न माग गरेका हुन् ।

उनीहरुले २४ दिनसम्म अनसन बस्दापनि सरकारले कुनै चासो नदेखाएको भन्दै सरकार बाबा रामदेवको धोती समातेर हिँडेको आरोप लगाएका छन् । विदेशी शक्तिहरुबाट सञ्चालित दलहरुले आम नगरिकलाई चुनावको लागिमात्र प्रयोग गरिरहेको भन्दै जनता मर्दापनि चासो नदेखाएको भन्दै अभियान्ताले आक्रोश पोखेका थिए ।

कार्यक्रममा बोल्दै विश्व हिन्दु महासंघको युवा अन्तराष्ट्रिय अध्यक्ष सागर थापाले तारा बरालको माग उहाँको मात्र नभएर सम्पूर्ण नेपाली जनाताको माग भएको बताए । साथै, उनले तारा बराललाई जीवनरक्षाको जोडदार माग गर्दै एमसीसी पास भए चुप लागेर नबस्ने बताए । ‘यदि एमसिसि पास भयो भने परि आए ज्यानको आहुति दिन पनि तयार छु’–उनले भने ।

त्यस्तै, सामाजिक अभियन्ता सजना रिमालले एमसीसी कोरोनाभन्दा पनि ठूलो रोग भएको भन्दै तत्काल खारेज गर्न माग गर्दै अफगानिस्तान हुनबाट रोक्न सबैमा आग्रह गरेकी थिईन् । ‘तारा बरालले पटक–पटक अनसन तोड्नुहोस भन्दापनि मान्नुभएन् । उहाँ साँच्चिकै यो देशकी योद्धा हुनुहुन्छ । सरकारले उहाँलाई बेवास्ता गरेको छ । प्रहरीले तारा बरालको नाम भएकाले हिजो हामीलाई सिंहदरबार पस्न दिएन’ उनले भनिन् ।

साथै, सञ्चारकर्मी राजु बस्यालले देशमा भएको सबै स्रोत र साधनको प्रयोग गरे एमसिसिको आवस्यकता नरहेको बताउदै सरकारलाई एमसिसि तिर नलाग्न आग्रह गरेका थिए ।

यस्तै, सामाजिक अभियन्ता महिमा शाही सरकारले आम नेपाली जनताको आवाज सुन्न नै चाहेको भन्दै आक्रोश पोखिन । ‘सरकारले हामीले दिएको चिठी पनि लिइएको छैन्’ उनले भनिन् ।

साथै, उनले मानबअधिकारवादीहरुले पनि आफुहरुलाई व्यवास्ता गरेको भन्दै उनीहरुलाई देशबाट निकालेर फाल्ने बताइन् ।

अर्का अभियन्ता मनिष मानवले विदेशी दलालसँग लड्न आफुहरु कहिलै पछि नपर्ने बताए । साथै, व्यक्तिगत रुपमा फेसबुकमा धारणा राख्न समेत आग्रह गरे । उनले तारा बराल व्यक्तिगत चर्चा कमाउन अनसन बसेको हो र ? भन्दै प्रश्न उठाएका थिए । साथै, उनले यदि माग पुरा भएन भने युवाहरुलाई सडकमा उतार्ने दाबी गरेका थिए ।

नेपाली काँग्रेस नेतृ पवित्रा लामाले तारा बरालका माग जायज भएको भन्दै यस्ता कुराहरु प्रधानमन्त्रीसम्म पुर्याउन आफु राजनीतिमा प्रवेश गरेको बताइन् । साथै, उनले अबको केहि दिनमा प्रधानमन्त्री देउवाको हातबाट बरालको अनसन ताडाउन पहल गर्ने दाबि गरिन ।

त्यस्तै, श्याम बहादुर सापकोटाले प्रधानमन्त्री देउवा जागिर खान जानुभएको हो अथवा जनताको सेवा गर्न ? भन्दै प्रश्न उठाए । साथै, उनले तारा बराल माग पुरा गर्न नसके कुर्सि छोड्न आग्रह गर्दै एमसिसि पास भए नेताहरुको गर्धन काट्ने चेतावनी दिए ।

राष्ट्रिय एकता केन्द्र पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले नेपालमा विगत ३२ वर्षदेखि नेपालमा युवाहरुलाई भविष्यका कर्णधार भनेर देश लुटेर खाने राजनीति भइरहेको बताए । यस्ते, उनले एमसिसि देशको हित विपरित रहेको भन्दै नेताहरुले देशलाई हैटि बनाउन खोजिरहेका आरोप लगाए ।

यस्तै, अधिवक्ता भूमिनन्द चुँडालले सरकारले तारा बरालको विषयमा आफ्नो दायित्व पुरा गर्नपर्ने बताए । ‘अब २४ घण्टाभित्र माग पुरा भएन र तारा बरालको जीवनमाथि सरकारले खेलवाड गर्याे भने आम जनता सडकमा उत्रिनेछन्’–उनले भने ।

कार्यक्रममा कलाकार हिरालाल भुजेल, अभियन्ता जयबहादुर खत्रीलगायतका अभियन्ता बोलेका थिए । उनीहरु कुनैपनि हालतमा एमसीसी पास हुन नहुने र तारा बरालको माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्