काठमाडौं, मंसिर २४। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको अनुभव अनुकरणीय रहेको बताएका छन् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्रका लागि शिखर सम्मेलनमा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रीकरणको यात्रामा जटिल राजनीतिक मतभेदलाई पनि वार्ताबाटै समाधान गर्न सकिने नेपालको सफल इतिहास रहेको बताएका हुन्।
सो क्रममा उनले लोकतन्त्र र लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको विविध अनुभव साटेका छन् । नेपालमा विकसित सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियाको स्मरण गर्दै शान्ति प्रक्रियाको क्रममा भएका उपलब्धिबारे प्रधानमन्त्री देउवाले त्यसको अभिन्न अङ्गका रूपमा जननिर्वाचित संविधान सभाले लोकतान्त्रिक र समावेशी संविधान निर्माण गरेको जानकारी गराए।
साथै उनले लैङ्गिक समानताका लागि नेपालको प्रतिबद्धता र उपलब्धिका बारेमा प्रकाश पार्दै लोकतन्त्रले जनताको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिए। नेपालले लोकतन्त्रलाई दिगो बनाउने क्रममा आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनको भनाई छ । गोरखापत्र दैनिकबाट