Logo

काठमाडौं आईपुगे चार हजार बढी कांग्रेस प्रतिनिधि



काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौमा शुरु हुँदैछ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलको सजावट गरिएको छ । पार्टी सभापति प्रधानमन्त्री शेरवहादुर देउवाले आज दिनको १ बजे महाधिवेशनको उदघाटन गर्ने कार्यक्रम छ ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि पहिलोपटक हुन लागेको नेपाली कांग्रेसको यो महाधिवेशन देशको लोकतन्त्र र विकसित संसदीय शासन प्रणालीको अभ्यासका साथै लोकतान्त्रिक मूल्यमान्यता र विधि र पद्धतिको निरन्तरताका लागि निकै महत्वपूर्ण मानिएको छ ।

स्थापनाकालदेखि नै संसदीय प्रजातान्त्रिक व्यवस्था अंगिकार गरेको मुलुकको सबैभन्दा जेठो राजनीतिक पार्टी नेपाली कांग्रेसले संसदीय शासन प्रणालीको स्थायित्व र विकासका लागि विभिन्न समय र कालखण्डहरुमा क्रान्ति र संघर्षको नेतृत्व गरेको इतिहास छ ।

देशमा बहुदलिय संसदीय शासन प्रणालीको स्थायित्व र विकासका लागि कटिबद्ध रहेको नेपाली कांग्रेसको यस महाधिवेशनले तय गर्ने राजनीतिक कार्यदिशा र नेतृत्व आम मुलुकका लागि यतिखेर चासो र सरोकारको बिषय बनेको छ ।

महाधिवेशनमा मुलतस् नीति र नेतृत्वको विषयमा वहस केन्द्रीत हुने छ । महाधिवेशननमा सहभागी हुन देशभरीका करीव ४ हजारभन्दा बढी प्रतिनिधिहरु काठमाण्डौं आइसकेका छन् ।

यसैगरी भारत लगायत विभिन्न मुलुकका पाहुनाहरु पनि काठमाण्डौं आइसकेका छन् । उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्