काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म टिम घोषणा गरेका छैनन् । उनी संस्थापन इतर समूहको रणनीति र अवस्था हेरेर टिम घोषणा गर्ने तयारीमा छन् ।
संस्थापन इतर समूहमा साझा उम्मेदवार घोषणा हुन नसकेपछि देउवा उत्साही छन् । आजको रातभर पनि साझा उम्मेदवार घोषणा हुन नसके देउवाले इतर समूहका नेताहरुलाई आफ्नो पक्षमा तान्ने सम्भावना छ ।
विश्वस्त स्रोतका अनुसार देउवाको ध्यान पूर्वमहामन्त्री प्रकाशमान सिंहतिर जान थालेको छ । इतर समूहबाट साझा उम्मेदवार बन्ने आशामा रहेका सिंहलाई विस्तारै एक्लाउन थालिएको छ । यही चाल पाएर देउवाले उनीतर्फ ध्यान बढाएको बुझिएको छ ।
देउवासँग १८ सय जति मत रहेको र प्रकाशमानसँग रहेको मत जोड्दा सभापति जित्ने पक्का हुने अवस्था देखिएको छ । सिंहसँग पनि यस्ता मतहरु छन् जुन उनी जुन समूहमा जाँदा सँगै जान्छन् । यसकारण पनि देउवाले सिंहतर्फ ध्यान बढाएका हुन् ।
नेपाली काँग्रेस प्रजातान्त्रिक हुँदा पनि सिंह देउवाको साथमा थिए । यसकारण पनि दुईबीच पुरानो निकटता छ । सुशील कोइराला काँग्रेस सभापति हुनुअघि १३औं महाधिवेशन पूर्व सिंहले गुट परिवर्तन गरेका थिए । उनी कोइराला खेमाबाट निर्वाचित महामन्त्री बने ।
पछिल्लो समय सिंह काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैविरुद्ध आक्रामक बन्दै आएका छन् । तर, पौडेल समूहबाट किनारा लगाइएको आभाष पाएपछि उनी विकल्पहरुबारे आन्तरिक छलफलमा जुटेको बुझिएको छ ।
सिंहनिकट स्रोतले भन्यो,‘उहाँ सभापतिको उम्मेदवारीबाट ब्याक हुनुहुन्न । तर, राजनीतिमा विकल्प भने हुन्छन् । त्यतिबेला परिस्थिति हेरेर कठोर निर्णय गर्नसक्नुहुन्छ ।’
देउवाले विगतमा पनि सिंहलाई आफ्नो पक्षमा पार्न खोजेका थिए । तर, उनले अस्वीकार गरेका थिए । फेरि प्रयासलाई बढाएको बुझिएको छ ।