Logo

गच्छेदारले गरे देउवा र पौडेललाई मिलेर जान आग्रह



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिलेर जान आग्रह गरे । उनले पार्टीको १४औं महाधिवेशन उदघाटनमा बोल्दै प्रतिशोधात्मक प्रतिष्पर्धामा नउत्रन आग्रह गरे ।

‘म सभापतिज्यू र वरिष्ठ नेताज्यूहरुलाई आग्रह गर्न चाहन्छु प्रतिशोधात्मक प्रतिष्पर्धामा नउत्रनुहोस्, छताछुल्ला नपार्नुहोस्,’ गच्छेदारले भने । उनले काँग्रेस एक नभए कम्युनिस्टहरुसँग मुकाबिला गर्न नसकिने बताए ।

आफूले विगतमा पनि कम्युनिस्टहरु निकै बलियो भएकाले मुकाबिला गर्न काँग्रेस एकजुट हुनुपर्ने बताउँदै आएको बताए । आफू काँग्रेसका लागि खून दिन तयार भएको बताउँदै चौधरीले पार्टीमा विवाद हुने अवस्था आउन नदिन आग्रह गरे ।

चौधरीले इतिहासको पाना पल्टाउन भन्दै वीपीले स्थापना गरी गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता नेताले स्वस्थ प्रतिष्पर्धाबाट पार्टीलाई बलियो बनाएको बताए । त्यो इतिहासलाई पुनः जागृत गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्