काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पक्षमा पार्न अझै महत्वपूर्ण प्रयास गरिरहेको बुझिएको छ । देउवाले सिंहलाई पक्षमा ल्याउन निकटस्थहरुलाई सक्रिय बनाएका छन् ।
टिमकोबाहेक व्यक्तिगत पकडका हिसाबले देउवापछि सिंहसँग बढी मत देखिएपछि यस्तो प्रयास बढाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवानिकटस्थलहरु गएराति चाक्सीबारी पुगेर छलफल गरेका छन् । तर, सिंह चट्टाने अडान लिएर सम्झौता नगर्ने पक्षमा देखिएका छन् ।
सिंहको प्यानल तयार भइसकेको र त्यसमा केही हस्ती नेताहरु पनि रहेको बुझिएको छ । विहानसम्म देउवा या पौडेल पक्षबाट स्थान नपाउनेहरु पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार बन्न चाक्सीबारी पुग्न थालेका छन् । रातभर महत्वपूर्ण मतहरु यताउता भएको बुझिएको छ ।
सिंहलाई देउवाले भविष्यमा आफ्नो टिमको नेतृत्व गर्नसक्ने सम्भावनाबारे समेत औल्याउँदै प्रस्ताव पठाएको बुझिएको छ । उनले एकपटक मात्र आफूलाई साथ दिन आग्रह गरेका छन् ।