जाजरकोट, २६ मङ्सिर: राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चार कस्तुरी मारिएको तथ्य सार्वजनिक भएको छ । असोज महिना लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु चार कस्तुरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए ।
जुम्लाका व्यापारीले बारेकोटका स्थानीयवासीसँग मिलेर कस्तुरीलाई पासो हालेर मारेको तथ्य सार्वजानिक भएको सिंहले जानकारी दिए । सरकारी संयन्त्र गतिलो नहुँदा वन्यजन्तु संरक्षणका लागि बारेकोटमा काम हुन नसकेको हो । अधिकृत सिंहले भने, “एक महिनामा एक जनाले चारवटा मारेको खबर थियो, म जङ्गल जाँदा यो त नमूनासमेत फेला परे, डोल्पा र जुम्लाबाट कुकुर, पासो र बन्दुकसहित आएका सिकारीले एक सिजनमा सात-आठवटा कस्तुरी मार्छन्, मुल्साम जिरिमा पनि मार्छन् भन्ने कुरा छ, दाँतप्रति एक रु हजारका दरले बिक्री गरेको खबर आएको छ । ”
तीन वर्षमा प्रहरीले बरामद गरेका १९ लोपोन्मुख रेडपाण्डा (रातो हाब्रे) को छालामध्ये १० जाजरकोटबाटै गएको गाउँपालिकाको तथ्याङ्क छ । घटनामा आठजना जाजरकोटका युवा पक्राउ परेका छन् । गत आइतबार मात्रै बारेकोटको मुलसामका ३५ वर्षीय लोकबहादुर रोकायलाई प्रहरीले रेडपाण्डाको छालासहित सेपुखोलाबाट पक्राउ गरेको थियो ।
कस्तुरी प्रजजन केन्द्र स्थापना हुँदै
बारेकोट गाउँपालिका–९ सक्लामा कस्तुरीपालन तथा प्रजनन केन्द्र स्थापना गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको छ । कोषले प्रजजन केन्द्र बनाउन रु एक करोड १८ लाखमा काम भइरहेको छ । कोषका वरिष्ठ संरक्षण अधिकृत डा नरेश सुवेदीले केन्द्रका लागि यसवर्ष एक करोडकै हाराहारीमा बजेट विनियोजन भई काम भएइरहेको बताए ।
उनका अनुसार भवनको काम सकिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन वा डोल्पाबाट बीउ कस्तुरी ल्याएर प्रजनन केन्द्र स्थापना गरिने छ । नेपालमा वन्यजन्तु प्रजनन र व्यावसायिक पालनका लागि कानून निर्माण भएपछि प्रजजन केन्द्र स्थापनाको बाटो खुलेको हो ।
त्यस्तै मासुका लागि जरायो, चित्तल, रतुवा, घोरल, बँदेललगायत वन्यजन्तु पाल्ने नियमावली पास भएसँगै थप बाटो खुलेको हो । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन भने बाँकी छ ।
डिभिजन वन कार्यलयका कर्मचारी अधिकांश समय सदरमुकाम बसेर दिन कटाउने गरेका छन् । स्थानीय जनप्रतिनिधि सर्वसाधारणसँगसम्बन्ध बिग्रने डरले चोरी निकासी भए पनि चुप लागेर बस्ने गरेका पाइएको छ । बारेकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले व्यक्तिगत रुपमा जङ्गलमा राखिएका पासो नष्ट गर्ने काम गरिएको बताए ।
चोरी निकासी रोक्ने प्रहरी प्रमुख हटाउन दबाब
बारेकोटमा भारी मात्रामा चोरी निकासी हुने गरेको सूचना आधारमा पछिल्लो समय प्रहरीले आफ्नो अभियान आक्रमक बनाएको छ । बारेकोट तथा अन्य ठाउँबाट दर्जन बढी हतियार र तस्करलाई कब्जामा लिई मुद्दा चलाइरहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।
स्थानीयवासीबाट असहयोग हुँदा काम गर्न मुस्किल भएको उपरीक्षक थापाले दुखेको गर्नुभयो । प्रहरीको अभियान आक्रमक भएपछि उपरीक्षक हटाउन माग गर्दै नेताहरु गृहमन्त्रालयसमेत पुगेका थिए । वषांैदेखि बदमासी गरेर व्यापार गर्दै आएका सञ्जालको जालो भत्किएपछि अहिले तस्कारको रुवाबासी भएको सर्वसाधारण बताउछन् ।-रासस