काठमाडौं, २६ मंसिर । पहिलो चरणमै सभापतिमा जित हासिल गर्न नसके दोस्रो चरण मुश्किल पर्न सक्ने बुझेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय हुन थालेका छन् । उनी यसकारण पनि आफ्नो गुटलाई एकढिक्का बनाउन सक्रिय भएका छन् ।
देउवा समूहबाट राम्रो मत भएका लोकप्रीय नेता विश्वप्रकाश शर्मा बाहिरिएका छन् । उनी प्रकाशमान सिंहको प्यानलमा गएका छन् । यसले पनि देउवालाई पहिलो चरणमै बाजी मार्न मुश्किल भएको छ । उपसभापति विमलेन्द्र निधि आफै सभापतिका उम्मेदवार छन् ।
देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेतको मत गणना गर्दा २ हजारभन्दा केही मत कटाउन सक्ने विश्लेषण हुन थालेको छ । बाँकी मतका लागि उनले अर्को गुटको मत तान्नुपर्ने हुन्छ । देउवा यसकारण पनि चिन्तामा छन् ।
देउवाले सभापति जित्नका लागि बढी ध्यान केन्द्रित गर्दा उनको समूहका उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारहरु आफ्नो चिन्तामा परेका छन् । उपसभापति २, महामन्त्री २ र सहमहामन्त्रीको ८ पद छ । पदाधिकारीमा हेभिवेटहरु भएकाले निकै प्रतिष्पर्धा छ । त्यसमाथि एउटै प्यानलका उम्मेदवारहरु पनि आफै प्रतिष्पर्धी जस्तै देखिएका छन् ।
देउवा समूहमा केन्द्रीय सदस्यको उम्मेदवार भई समूहमा नाम नराखिएकाहरुले विद्रोह गर्ने सम्भावना पनि छ । त्यसले पनि मत यताउता हुनसक्छ । देउवा यसकारण पनि चिन्तामा छन् ।
उपसभापति, महामन्त्री र सहमहामन्त्रीका दाबेदारहरु टिमबाट उम्मेदवार बन्न नपाएपछि केन्द्रीय सदस्यमा झरेका छन् । उनीहरुमा तिव्र असन्तुष्टि छ । यसकारण पनि देउवा समूहमा घात अन्तर्घातको सम्भावना छ । यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा अर्को समूहले गर्न सक्छ ।