काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू चुनाव हारेमा सरकार नै ढल्ने बताएर मत मागेका थिए । पहिलो चरणमै चुनाव जित्ने उनको प्रयास विफल भयो ।
काँग्रेस सभापतिको निर्णय शक्ति तेस्रो स्थानमा पुगेका प्रकाशमान सिंहको हातमा पुग्यो । सिंहको मत निर्णायक बन्ने भयो । उनलाई साथमा लिन सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा र डा. शेखर कोइराला घरमै पुगे । विभिन्न प्रस्तावहरु राखे ।
सिंह देउवासँग भने सहमत बने । उनले देउवालाई नै सभापतिमा सघाउने घोषणा गरे ।
देशको राजनीतिक भविष्यमा असर गर्ने काँग्रेस सभापतिको प्रतिष्पर्धामा सिंह निर्णायक शक्ति बने । छटपटीमा परेका देउवाले पार्टीलाई विधि र विधानमा चलाउने देखि राजनीतिक विषयमा लेनदेनको कुरा गरेको बुझिएको छ ।
देउवाको कुरा सुनेर साथमा रहेकी सुजाता कोइराला उत्साही भएर निस्किइन् । उनले पनि देउवालाई नै सघाउने घोषणा गरिन् ।