Logo

नेकपा मोओवादी केन्द्र (समाजवादी)द्धारा एमसीसी सम्झौताविरुद्ध संकलित १० लाख हस्ताक्षर सार्वजनिक



काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (समाजवादी)ले एमसीसी सम्झौताविरुद्ध सकलन गरेको १० लाख हस्ताक्षर सार्वजनिक गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले मंसिर २३ गतेदेखि २८ गते (आज)सम्म देशव्यापी रुपमा एमसीसी विरुद्धको हस्ताक्षर संकलन गरेर सार्वजनिक गरेको हो ।

‘राष्ट्रिय स्वाधिनताको रक्षार्थ सम्पुर्ण क्रान्तिकारी, देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरु एकजुट होऔ, राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको हस्ताक्षर अभियानमा सहभागी बनौ ।’ भन्ने मुल नाराको साथ हस्ताक्षर संकलन गरेको समाजवादीले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध १० लाख जनाको हस्ताक्षर गरेर ऐतिहासिक र युगान्तकारी कार्यक्रम आफ्नो पार्टीले गरेको बताए । उनले नेपाल सरकारले गर्न लागेको एमसीसी सम्झौता जनताको हितमा नभएको उनको भनाई थियो । शासन र सत्ता गरिरहेका नेताहरुको कारण नेपाली जनताको टाउकोमा ठुलो बज्रपात देखिएको समेत उनले आरोप लगाए ।
अब नेपाली जनतालाई सहि ढंगले नेतृत्व गर्ने ऐतिहासिक कार्यभार थपिएको छ भन्दै अध्यक्ष बुढाथोकीले भने, ‘अबको यो सामुहिक विघटनको अवस्था हो । पुरानो सत्ता, प्रतिक्रियावादी नेतृत्व, प्रतिक्रियावादी संरचना र पुरानो दृष्टिकोणको सामुहिक विघटनको गर्नुपर्ने अवस्था हो ।’

नेपाली राजनीति र निकासको लागि देशप्रेमीहरुको सामुहिक गठनको आवश्कता रहेको उनले औंल्याए । उनले अध्यादेशमार्फत देश चलेको आरोप लगाए । ‘अदालतलाई राजनीति गर्ने थलोको रुपमा आज राजनीतिक दलले प्रयोग गर्दै आएका छन् शक्ति सन्तुलनको हिसाबले जनता थप पीडित भएका छौ ।’–उनले भने, ‘अब जनताको इच्छा अनुसारको अग्रगामी निकास दिनुपर्छ ।’

असक्षम पार्टी र नेताहरुबाट देशको निकास हुन नसक्ने भन्दै क्रान्तिकारी पार्टीहरुले निकास दिनुपर्ने उनले बताए । नेपालमा राजतन्त्र पुनःस्थापना गर्न लागेका केही पार्टीहरुलाई लक्षित गर्दै उनले भने, ‘यसको लागि केही तत्वहरु सलवलाएका छन् जुन इतिहास बनिसकेको छ । यसबारेमा हामीले ध्यान दिनुपर्ने देखिन्छ ।’

प्रत्यक्ष राष्ट्रपतिय प्रणाली नै आजको आवश्कता रहेको उनको भनाई छ । व्यक्ति देश र राजनीतिक प्रणालीमा आएको संकट र राजनीतिमा आएको संकट हटाउनको लागि आफ्नो पार्टी लागेको बताए । उनले पुरानो नेता र राजनीतिक दलले राष्ट्रको संकट समाधान गर्न नसक्ने पनि जिकिर गरे । अबको निकासको लागि आफ्नो पार्टीले अघि सारेको एजेण्डा नै नेपाली जनताको एजेण्डा हुने उनको भनाई थियो ।

अध्यक्ष बुढाथोकीले १० लाख जनताको हस्ताक्षर संकलनलाई ऐतिहासिक संकलन भएको दाबी गरे । एमसीसीलाई केही दिनमा संसदमा पेश हुने भन्दै देशप्रेमी सबै सचेत रहन पर्ने उनको भनाई थियो । यदि यति विरोधको बाबजुद पनि एमसीसी पास भएमा नेपालमा ठुलो आँधी आउने पनि उनले चेतावनी दिए । नेपाललाई हातमा लिन अमेरिकाले एमसीसी लागु गर्न लागेको उनको ठहर छ । एमसीसी सम्झौता नेपाली जनतालाई कुनै पनि हिसाबले ठिक नुहने उनले तर्क गरे । यति गर्दा पनि आफ्नो माग सुनुवाई नभएमा आफ्नो पार्टी अर्को तरिकाले अगाडी बढ्ने बताए । एमसीसी खारेज नगरी लागु गरेमा कडा भन्दा कडा जनसंघर्षमा उत्रने पनि उनले उद्द्धोष गरे ।

नेपालमा भित्रिन लागेको एमसीसीको विरुद्ध ३ वर्षदेखि आफ्नो पार्टी उभिएको बताए । आफ्नो पार्टीले एमसीसी विरुद्धको अभियान चलाइरहेको जनाउँदै कुनै पनि हालतमा एमसीसी पास गर्न नदिने उनले बताए । देशमा हालसम्म भएका राष्ट्रघाती सम्झौताहरुले गर्दा आज राष्ट्रलाई धेरै घाटा पुर्याएको उनको भनाई थियो ।

उनले एमसीसीविरुद्धको हजारौ जनताले गरेको हस्ताक्षर देशभरबाट आइरहेको र आउने क्रम जारी रहेको उनको भनाई थियो । उनले एमसीसी सम्झौता पास गरेरमा अफगानीस्तानमा भएको अवस्था नेपालमा पनि दोहोरिने उनले धारणा राखे । नेपालमा ९९ प्रतिशत जनताको विरुद्धमा रहेको राष्ट्रघाती एमसीसी नेपाललाई खाँचो नभएको उनले स्पष्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्