काठमाडौं, २८ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विवादास्पद उपकुलपति डा. संगीता भण्डारीको कार्यकाल सकिएपछि पनि स्वास्थ्यमन्त्री विरोध खतिवडाले अर्को उपकुलपति नियुक्त नहुन्जेलसम्म म्याद थप गरेका छन् | नेपालस्थित कुनै पनि विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपतिको कार्यकाल सकिएपछि यसरी म्याद थप गर्ने प्रचलन नभएतापनि उपकुलपति डा. भण्डारीको हकमा भने सो लागू भएन | “सत्ता र शक्तिको खेलमा माहीर उपकुलपति डा. भण्डारीले स्वास्थ्यमन्त्री खतिवडालाईसमेत आफ्नो बसमा पारिसकेको देखिएकोले उनकै पुनर्नियुक्ति हुने देखियो” प्रतिष्ठानका एक पूर्व शिक्षाध्यक्षले भने |
भण्डारी सम्पूर्ण कार्यकाल नै विवादमा
तत्कालिन स्वास्थ्यमन्त्री दिपक बोहराको जोडबलमा नियुक्ति पाएकी उपकुलपति डा. भण्डारीको चार वर्षे कार्यकाल नै विवादास्पद र उपलव्धिबिहिन बन्यो | आफू उपकुलपति बने पश्च्यात आफ्नै सिफारिसमा त्रि. बि. शिक्षण अस्पतालका माओबादी समर्थक प्रा. डा. रतेंद्र श्रेष्ठलाई शिक्षाध्यक्ष, एमाले समर्थ डा. ऋतु बराललाई डीन र कांग्रेस समर्थक राम प्रसाद प्याकुरेललाई रजिष्ट्रार नियुक्त गराएर सबै राजनैतिक शक्तिको आडमा संस्था संचालन गर्न तम्सिएकी उपकुलपति भण्डारीसंग उपरोक्त दुवै पदाधिकारीसंग ६ महिना पनि सु-सम्बन्ध र सहकार्य हुन सकेन | उपकुलपति भण्डारीको आर्थिक चलखेलको एकल एजेन्डाबाट आजित भएर डा. श्रेष्ठ र डा. बरालले प्रतिष्ठान त्यागेको प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् ।
डा. रतेंद्र श्रेष्ठले तत्कालिन स्वास्थ्यमन्त्रीलाई उपकुलपति भण्डारीका अनियमितताका प्रमाणहरुसहित निवेदन दिंदासमेत कुनै कारवाही नहुँदा आजित भइ प्रतिष्ठानबाट राजिनामा दिएको मन्त्रालय श्रोत बताउँछ । डा. रतेंद्र श्रेष्ठले राजीनामा दिए पश्च्यात उपकुलपति भण्डारीले तत्कालिन मन्त्री उपेन्द्र यादवका सम्धी डा. विश्वनाथ यादवलाई शिक्षाध्यक्ष नियुक्त गरिन् तर डा. यादवसँगसमेत ६ महिनामै पानी बाराबार गर्न थालेपछि उनले पनि राजिनामा दिएर प्रतिष्ठान छोडे । त्यसैगरी उपकुलपति भण्डारीले नियुक्त गराएका रजिष्ट्रार रामप्रसाद प्याकुरेल समेतले निजसँग काम गर्न नसक्ने भन्दै कार्यकालको विचमै राजिनामा दिए | “यति धेरै पदाधिकारीसँग झगडा गरेर संस्था अस्थिर बनाउने अन्य उपकुलपति देखिएको छैन” मन्त्रालयका एक अधिकारी भन्छन् |
अनेकौं छानविन, आरोपको चांङ
आर्थिक रूपमा निरन्तर बदनाम हुने गरेकी उपकुलपति डा. भण्डारीको कार्यकालमा विभिन्न अनियमितता भएको उजुरीहरु परेको सम्बन्धमा छानविन गर्न पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा संसदीय छानविन समिति, डा. गुणराज लोहनीको संयोजकत्वमा मन्त्रालयको छानविन समिति र पुन: सह-सचिव मधुसुधन बुर्लाकोटीको संयोजकत्वमा मन्त्रालयको छानविन समिति गरि तीनवटा समिति बने र तीन वटै समितिले भण्डारीलाई कारवाहीको सिफारिस गरे । छानविन समितिहरुले कारवाहीको सिफारिस गरे पनि शक्ति केन्द्रहरु मिलाउन माहिर भण्डारीले कारबाही भोग्नु भने परेन ।
उपकरण खरिदमै सकियो कार्यकाल
उपकुलपति भण्डारीले आफ्नो सम्पूर्ण कार्यकाल मेडिकल उपकरण खरिद र कमिसन बांडफांडमा बिताएको निजलाई आरोप छ । विश्वविद्यालयस्तरको भनिएको प्रतिष्ठानमा उपकुलपति भण्डारीको कुनै पनि शैक्षिक कार्यक्रम शुरु गर्ने तथा स्वास्थ्य अनुसन्धानको तर्फ कार्य गर्ने तर्फ कुनै ध्यान रहेन | स्थापनाको पाँचौं वर्षमा पनि कुनै शैक्षिक कार्यक्रम शुरु गर्न नसक्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र हो ।
भण्डारीका कारण स्वास्थ्यमन्त्री विवादमा
माधव नेपाल नेतृत्वको नेकपा यस बाट नियुक्ति पाएका र ओली नेतृत्वको पार्टीलाई भ्रष्टाचारीहरुको पार्टी भनेर तिब्र आलोचना गर्ने मंत्री खतिवडाको उपकुलपति डा. भण्डारीको म्याद थप गर्ने निर्णय पार्टी उनका पार्टीका वरिष्ठ नेताहरु चकित परेको नेकपा यस का स्वास्थ्य विभाग हेर्ने नेताहरु बताउँछन् | पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलेसमेत सार्वजनिक रूपमा स्वास्थ्यमन्त्री खतिवडा आर्थिक चलखेलमा लाग्न थालेको बताइरहेको अवस्थामा यो निर्णयले निजका विरोधीहरुलाई आरोप पुष्टी गर्ने अर्को आधार खडा भएको छ ।