Logo

काठमाडौं महानगरका निर्देशक सहित ५ जनाविरुद्ध मुद्दा



काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित ५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । बोगटीलाई टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मुल्यांकन प्रक्रियामा गलत लिखत तयार पारेको उजुरीको आधारमा अनुसन्धान गर्न अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा काठमाडौं महानगरपालिकाका निर्देशक बोगटीसहित खरिद इकाई प्रमुख उप–निर्देशक बखतबहादुर साउद, उप–निर्देशक सुमन अधिकारी, उप–निर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरी भ्रष्टाचार गरेको पृष्टि भएको थियो ।

बोगटीसहित ५ जनालाई कानुन बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्