परासी, २९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
मुख्यमन्त्री केसीले स्वास्थ्य र शिक्षामा समान अवसर र निःशुल्क हुन सकेमात्र समाजवादको बाटो तय हुने बताए ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–४ स्थित पाल्हीनन्दन अस्पतालको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सरकारले स्वास्थ्यको क्षेत्रमा नवीनतम् कार्यक्रमहरू ल्याएको बताए । उनले भने, “वर्तमान गठबन्धन सरकार सङ्घीयता कार्यान्वयन कसरी गर्नुपर्छ भनेर बाटो देखाउन लागिपरेको छ, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ, सबैले समान सेवा पाउनुपर्छ अनि मात्र समाजवादको बाटो देखिन्छ, स्वास्थ्य र शिक्षा सुधार हाम्रो पहिलो प्राथमिकता हो ।”
मुख्यमन्त्री केसीले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच स्थापित गर्न प्रदेश सरकारले घरदैलोमा डाक्टर कार्यक्रम’ सञ्चालन गर्न लागेको जानकारी दिए । त्यसको लागि कार्यविधि निर्माण भइरहेको बताउँदै उनले आर्थिक अभावका कारण अस्पतालसम्म आउन नसकेका बिरामीलाई गाउँमै डाक्टर पठाएर उपचार सेवा दिइने बताए ।
उनले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी सबै किसिमका उपचार प्रविधि, उपकरण र दक्ष चिकित्सकबाट सेवा दिने रणनीतिका साथ अघि बढेको बताए । उनले सबै सामुदायिक विद्यालयलाई सुधार गरी अब्बल बनाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिएको पनि बताए।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले ग्रामीण क्षेत्रमा स्थापना भएको अस्पतालको सेवा प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । रासस