काठमाडौं, १ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा जित हासिल गर्न आफूले लामो समययता संरक्षण र साथ दिदै आएका हस्ती नेताहरुको राजनीतिलाई जोखिममा पारिदिए । पार्टीमा बलियो पकड बनाएका हस्तीहरुलाई पदाधिकारीमा उम्मेदवार हुनबाट रोकिदिए ।
देउवा समूहबाट काँग्रेसको उपसभापतिका आकांक्षी गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की जस्ता नेताहरु ब्याक गराइए । महामन्त्रीका आकांक्षी बालकृष्ण खाँड, एनपी साउद, विश्वप्रकाश शर्मा, रमेश लेखक जस्ता नेताहरुलाई पनि पछि हटाए । विश्वप्रकाशले विद्रोह गरी प्यानल परिवर्तन गरे । खाँड, साउद र लेखक आफ्नै समूहमा रहे ।
पार्टीभित्र बलियो पकड बनाएका नेताहरु धेरैको राजनीति जोखिममा पर्ने गरी देउवाले चालेको कदम सभापति जित्नका लागि थियो । कृष्णप्रसाद सिटौलालाई पक्षमा पारिरहन प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए । देउवाले व्यवस्थापन त गरे तर आफ्ना लागि मात्र ।
सभापतिमा पहिलो चरणमा २२ सय मत नघाएका देउवा पक्षले उपसभापति र महामन्त्रीमा तीन पद गुमाएको छ । पूर्णबहादुर खड्का मात्र उपसभापतिमा विजयी भए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जित्दा उनको प्यानलका डा. प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भए ।
महामन्त्रीको मतपरिणाम केलाउँदा देउवा समूहमा अन्तर्घात भएको या देउवाले अर्को समूहबाट भारी मत तान्न सकेको देखिन्छ । उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छेदारको मत केलाउँदा पनि देउवा समूहमा अन्तर्घात भएको विश्लेषणमा बल पुगेको छ । महामन्त्रीमा तेस्रो स्थानमा आएका प्रकाशशरण महतले उपसभापतिमा पराजित गच्छेदारको भन्दा पनि कम मत पाउन सके ।