काठमाडौं, ३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् ।
पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् भने एक खेल पोखरा रंगशालामा हुनेछ ।
पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।
च्यासल ४ अंक जोड्दै दशौँ स्थानमा रहेको छ भने जावलाखेल १३ औं स्थानमा रहेको छ ।
दशरथ रंगशालामा हुने अर्को खेलमा छैटौं स्थानको थ्री स्टार क्लब र नवौं स्थानमा रहेको न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।
यस्तै, पोखरा रंगशालामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र पुलिसबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
४ खेलमा १० अंक जोडेको मनाङ आज शीर्ष स्थानमा उक्लन चाहन्छ ।
साथै, पुलिस ४ खेलमा ५ अंकका साथ आठौं स्थानमा रहेको छ ।