Logo

ओली-प्रचण्ड मध्ये को ‘असली गणतन्त्रवादी’ ?



काठमाडौं, ३ पौष । देशमा फेरि एकपटक गणतन्त्रवादी बन्ने प्रतिष्पर्धा चलेको छ । विशेषगरी कम्युनिस्ट पार्टीका नेताहरुबीच को असली गणतन्त्रवादी हो भनी प्रमाणित गर्ने प्रतिष्पर्धा नै चलेको छ ।

विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन कमल थापालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएपछि कम्युनिस्ट नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् । काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा लिङ्देनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तारो बनाएर कडा आलोचना गरेका थिए । उनीहरुले गणतन्त्रविरुद्ध लागेको भन्दै चेतावनी समेत दिएका थिए ।

पछिल्लो समय ओली प्रचण्डबीच को असली गणतन्त्रवादी हो भन्ने प्रमाणित गर्ने प्रतिष्पर्धा चलेको छ । एकले अर्कालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग सहमति गरेको आरोप लगाएका छन् । प्रचण्डले ओलीमाथि राजसंस्था फर्काउन खोजेको आरोप लगाइसकेका छन् । उनले एमाले नेताहरुले ज्ञानेन्द्रसँग भेटघाट गरेको टिप्पणी समेत गरे ।

ओलीले पनि तत्कालीन राजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच सहमति भएको ठोकुवा गरे । १८ मंसिर २०६० मा सहमति गरेको उनको आरोप थियो । त्यतिबेला माओवादी जनयुद्धमा थियो र प्रचण्ड प्रधानमन्त्री बन्न खोजेको आरोप ओलीले लगाएका छन् ।

ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको दाबी ओलीबाट भएपछि प्रचण्डले प्रमाणित गर्न चुनौती दिए । ओलीनिकटस्थहरुले त्यसपछि विभिन्न माध्यमले प्रचण्डको आलोचना गर्दै आएका छन् । प्रचण्डले तत्कालीन राजासँग सम्झौता गर्न लागेकाले वास्तविक गणतन्त्रवादी नभएको ओली समूहको आरोप छ । प्रचण्डले भने ओलीलाई झुटको राजनीति गर्ने भन्दै असन्तुष्टि पोखे । प्रचण्डले अहिले गणतन्त्र खतरामा परेको टिप्पणी गरेका छन् ।

अहिले ओली र प्रचण्डबीच को असली गणतन्त्रवादी हुन् भनी प्रमाणित गर्ने प्रतिष्पर्धा चलेको छ । उनीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस्