Logo

साफ उपविजेता खेलाडीलाई जनही ५ लाख



काठमाडौँ, ६ पुस: सरकारले साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगदसहित सम्मान गरेको छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन् ।

यसअघि सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । पूर्व घोषणा अनुसार सरकारले खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।

पुरस्कार पाउने खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, नितिन थापा, बिशाल राई, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी रहेका छन् ।

त्यस्तै सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापाका साथै प्रशिक्षकमा अब्दुल्लाह अलमुताईरी, सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा बिकाश मल्लले पनि पुरस्कार पाएका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले खेल र खेलाडीको बिकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले खेलाडीहरुको मनोवल उच्च राख्न सरकारले सदैव खेलाडीहरुको हितमा काम गर्ने जनाए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा अन्तराष्ट्रिय खेल खेलाउन सक्ने मैदान आवश्यक रहेकाले आगामी बजेटमा सरकारले ध्यान दिने बताए ।

खेलाडीहरुलाई पुरस्कार दिने बिषयमा कार्यबिधि तयार गरेर नै अघि बढ्ने तयारीमा मन्त्रालयले अघि बढेको उनको भनाई छ । नेपाल साफ च्याम्पियनसिप फुटबलमा पहिलो पटक फाईनल प्रवेश गरेको थियो । उपाधि भिडन्तमा नेपाली टिम भारतसँग पराजित बनेको थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्