Logo

शेखर-विमलेन्द्र गठबन्धन, देउवालाई काँग्रेस प्रदेश २ मा धक्का दिने तयारी



काठमाडौं, ६ पौष । नेपाली काँग्रेसमा सभापतिमा पराजित उम्मेदवारहरु डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच गठबन्धन बनेको छ । दुई नेताबीच प्रदेश २ को अधिवेशनमा गठबन्धन बनेको हो ।

सभापति शेरबहादुर देउवा पक्षधरले कृष्ण यादवलाई उम्मेदवारका रुपमा अगाडि सारेपछि संस्थापनइतर डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि निकट रामसरोज यादवलाई साथ दिने निर्णय लिएको छ । दुवैले उम्मेदवारी दर्ता गरेका छन् । यसबाट कोइराला र निधिको नयाँ समिकरण विकास भएको छ ।

प्रदेश २ का काँग्रेस संसदीय दलका नेता तथा भौतिकमन्त्री समेत रहेका रामसरोज निधिका विश्वासपात्र हुन् । सभापतिको दोस्रो चरणको प्रतिष्पर्धामा भने निधिले देउवालाई नै साथ दिएका थिए ।

सभापतिका उम्मेदवार कृष्ण यादवलाई जिताउन गृहमन्त्री बालकृष्ण खाँण आफै जनकपुर खटिएका छन् । सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु उदय शमशेर राणा, रामहरि खतिवडा, सुरेन्द्रराज पाण्डे, आनन्दप्रसाद ढुंगाना, रामेश रिजाललगायत जनकपुरमा छन् । कोइराला र निधि पक्षका नेताहरु पनि जनकपुर केन्द्रित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्