Logo

काँग्रेसमा इतिहास बनाएका नेताका सन्तानलाई एकपछि अर्को धक्का



काठमाडौं, ६ पौष । महोत्तरीलाई चुनावी क्षेत्र बनाएर राजनीतिमा सक्रिय किरण यादव नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा पराजित भएकी छिन् । उनी प्रथम राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् । काँग्रेसको राजनीतिमा रामवरण कोइराला परिवारसँग नजिक छन् ।

रामवरणका छोरा चन्द्रमोहन भने मधेशी खुल्लातर्फको केन्द्रीय सदस्य जित्न सफल भए । उनी ५ सिटमा तेस्रो भए । रामवरणका विश्वासपात्र रामकृष्ण यादव मधेशी कोटातर्फको सहमहामन्त्रीमा पराजित भइसकेका छन् ।

नेताका सन्तानलाई यसपटक काँग्रेसमा नराम्ररी धक्का खान पुगेका छन् । सभापतिमा पराजित प्रकाशमान सिंह गणेशमान सिंहका छोरा हुन् । विमलेन्द्र निधि महेन्द्रनारायण निधिका छोरा हुन् । गणेशमान र महेन्द्रनारायण काँग्रेसको संस्थापक नेता हुन् । उनीहरुको काँग्रेस पार्टी कठिन परिस्थिति हुँदा त्यागको इतिहास छ ।

डा. शेखर कोइराला गिरिजाप्रसाद कोइरालाका दाजु केशवप्रसाद कोइरालाका छोरा हुन् । शेखर पनि सभापतिमा पराजित भए । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला पनि उपसभापतिमा पराजित भइन् ।

काँग्रेसका पुराना नेता वसन्त गुरुङका छोरा कल्याण गुरुङ पति सभापतिमा पराजित भए । उनी नेविसंघका पूर्वसभापति हुन् ।

वीपी कोइरालाका पुत्र डा. सशांक कोइराला भने तटस्थ रहे । उनी खुल्लातर्फ केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याई विजयी भए । तर, काँग्रेस महामन्त्री भइसकेका सशांक यसपटक ब्याक हुनुपर्यो ।

काँग्रेसभित्र नेताका सन्तानलाई पार्टी राजनीतिमा धक्का लाग्नुलाई कतिपयले विरासतको राजनीति कमजोर भएको या समाप्त हुन लागेको विश्लेषण गर्न थालेका छन् । तर, १४औं महाधिवेशनको यो घटनासँगै नेताका सन्तानहरु झस्किएका छन् । उनीहरु एकजुट नहुँदा पछिल्लो परिणाम आएको विश्लेषण पनि भइरहेको छ ।

कोइराला परिवारका तीन प्रभावशाली नेताहरु शेखर कोइराला, सुजाता कोइराला र सशांक कोइराला विभाजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि फरक समूह बनाएर चुनाव लडे ।



प्रतिक्रिया दिनुहोस्