काठमाडौं, पुस ९ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएसँगै आफ्नै दल नेपाली कांग्रेसभित्र मात्र होइन,बाहिरबाट पनि सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भयो। आफ्नै नेतृत्वको सरकारले चुनाव गराए पनि बलियो प्रतिपक्षीको भूमिकामा समेत पार्टीलाई पुर्याउन नसकेको भन्दै कांग्रेस नेताहरूले पार्टी सभापतिबाटै राजीनामा दिन देउवालाई दबाब दिए।
त्यति मात्र होइन, देउवाको विकल्प खोज्नुपर्ने भन्दै ‘अर्ली महाधिवेशन’को कुरा पनि कांग्रेसमा उठ्यो। पार्टीभित्र र राष्ट्रिय राजनीतिमा एकपछि अर्को गर्दै देउवा कमजोर हुँदै गए। पार्टीका निकायहरूलाई पूर्णता दिन उनी असफल भए। भ्रातृ तथा शुभेच्छुक संगठनहरू लथालिंग हुँदा पनि उनले महाधिवेशन गराउन सकेनन्। र,पार्टी संगठन चलायमान गराउनुको साटो गुटउपगुटहरू हाबी हुन पुगे।
पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीले २०७४ सालको निर्वाचन मात्र होइन,आगामी निर्वाचनको परिणाम पनि कांग्रेसको पक्षमा आउनेमा धेरैले आशंका गरेका थिए। तर, त्यही बेला तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले तिनै देउवा र कांग्रेस फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगे। केन्द्रसहित सातै प्रदेशमा प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेस सत्तारूढ दलभित्रको आन्तरिक विवादका कारण एकीकरणको काम पूरा नहुँदै नेकपा पुनः विभाजित हुँदा सत्ताको केन्द्रमा आइपुग्यो।
पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दा दुईपटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले रोक लगाएपछि देउवा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगे।
जबकि २०७४ सालको निर्वाचनको म्यान्डेटअनुसार एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाकै रूपमा अघि बढेको भए कांग्रेस अहिले पनि प्रतिपक्षी बेन्चमै हुने थियो। तर,सत्तारूढ दलको विवादले गत असार २९ गते पाँचौंपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्ने अवसर देउवालाई मिल्यो। आम निर्वाचनपछि संसदीय फाँटमा एक्लिएको कांग्रेसको वरिपरि एमालेबाहेकका दलहरू गोलबद्ध हुन पुगे। र,चार वर्षअघि राष्ट्रिय राजनीतिमा कमजोर तिनै देउवा फेरि शक्तिशाली बन्दै केन्द्रमा पुगे।
ठीक त्यसैगरी कांग्रेसभित्र पनि देउवा थप शक्तिशाली बन्न पुगेका छन्। चार वर्षदेखि देउवाको विकल्प खोज्नुपर्ने बताउँदै आएका इतर पक्षका नेताहरू आफूबाहेक अर्कोलाई स्वीकार गर्न तयार भएनन्। र,मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु भएको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह देउवासँगको प्रतिस्पर्धामा उत्रिए।
पार्टी नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट मात्र होइन, नेतृत्व चयनको प्रक्रियाबाटै अलग भए। निवर्तमान महामन्त्री शशांक कोइराला सभापतिको कुनै पनि प्रत्यासीको पक्षमा खुलेनन्। त्यसले देउवालाई पार्टीको दोस्रो कार्यकालको यात्रालाई सहज बनायो।
१४औं महाधिवेशनसम्म आइपुग्दा देउवा आफैँविरुद्ध आक्रामक देखिएका नेताहरूको समर्थन जुटाउन सफल भए। ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको समर्थनसहित देउवाले कांग्रेस सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हाल्दैछन्।