काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा विजयी हासिल गर्न चालेको रणनीति मात्र सफल भएन प्रभावशाली नेताहरुलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारे । देउवाले काँग्रेसको राजनीतिमा बलियो प्रभाव बनाएको कोइराला परिवार र सिंह परिवारलाई उनीहरुकै प्रभाव क्षेत्रमा कमजोर पारे ।
प्रदेश १ मा प्रभावशाली मानिएको कोइराला परिवारलाई कमजोर पार्ने क्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आन्तरिक गठबन्धन गरे । सिटौलासँग मिलेर प्रदेश सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरेलाई कठिनाईका साथ हराउन सके । यसले कोइरालालाई ठूलो धक्का लाग्यो जसको असर सभापतिको निर्वाचनमा पनि पर्यो ।
देउवाले बागमती प्रदेशमा प्रकाशमान सिंहलाई धक्का दिन रणनीतिक चार्तुयता देखाए । निकै प्रतिष्र्धामा सिंहको साथ पाएर प्रतिष्पर्धामा उत्रिएका जगदीश्वरनरसिंह केसी पराजित भए । यसले सिंहलाई धक्का पर्यो । उनको सभापतिको दाबेदारी कमजोर बन्यो । सभापतिमा इतर समूहका दुई उम्मेदवार देखि । अर्कोतर्फ संस्थापन पक्ष छाडेका विमलेन्द्र निधि पनि उठे ।
प्रदेश २ को प्रदेश अधिवेशन महत्वपूर्ण थियो । त्यसले जाने सन्देशले देउवालाई असर पर्न सक्थ्यो । त्यसकारण महाधिवेशनपछि मात्र अधिवेशन गर्ने तय भयो ।
महाधिवेशनपछिको अधिवेशनमा शेखर कोइरालाको समर्थनमा निधि पक्षका रामसरोज यादव उम्मेदवार बने । रामसरोजलाई कृष्ण यादवले पराजित गरे । कृष्ण यादव देउवा पक्षका हुन् । कोइराला र निधि मिल्दा पनि प्रदेश २ मा देउवा पक्ष बलियो देखियो । निधिलाई उनकै गृह प्रदेशमा देउवाले कमजोर पारे ।
यसरी देउवाले आफ्ना आन्तरिक प्रतिष्पर्धीलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारेर काँग्रेसमा बलियो पकड बनाएका छन् । यसले काँग्रेसभित्र देउवाको शक्ति झन् बढेको छ ।