Logo

सबैका ‘ब्युटी डाक्टर’ प्रसन्नकुमार झा



जनकपुरधामको मुरली (विद्यापति) चोकमा रहेको ‘गेट वेल सुन नेपाल स्कीन एन्ड हेल्थ केयर सेन्टर’मा छाला एवं सौन्दर्यसम्बन्धी ‘ए टू जेड’ उपचार हुन थालेको छ । अब कम्तीमा छाला र सौन्दर्य समस्या लिएर भारतका ठूला अस्पताल धाउनु नपर्नु प्रदेश २ बासीका लागि खुसीको खबर हो ।
बालरोग, रक्तरोग र क्यान्सर रोग विशेषज्ञ अजयकुमार झासँग मिलेर चर्मरोग, यौनरोग, कुष्टरोग एवं सौन्दर्य विशेषज्ञ प्रसन्नकुमार झाले जनकपुरधाममा खोलेका हुन्, गेट वेल सुन । जनकपुरधाममा मात्र होइन, प्रदेश २ मै पहिलो पटक यस्तो उपचार सेवा सुरुआत भएको हो । थुप्रै बिरामी सुखद अनुभव लिएर फर्केकाले उपचारमा आउनेको संख्या बढ्दो क्रममा छ ।

जनकपुरमा यसअघि ब्यूटी पार्लरबाहेक छाला र सौन्दर्यको उपचार उपलब्ध थिएन । नेपाल मेडिकल काउन्सिलको रिपोर्ट अनुसार नेपालमा कुल स्वास्थ्य विशेषज्ञको संख्या नै ८ हजारको हाराहारीमा छ । त्यसमा डर्मोटोलोजिस्ट ३—४ सयजति मात्र छन् । ती पनि सबैजसो काठमाडौँकेन्द्रित छन् । त्यसैले काठमाडौंमा प्रत्येक एक किलोमिटरमा लेजर क्लिनिक भेटिन्छन् ।

त्यसमा पनि क्लिनिकल डर्मोटोलोजीको अवस्था चिन्ताजनक छ । काठमाडौं र तराईका केस बिग्रेर, सुधार नभएर डाक्टर सपिङ हुँदै ‘मेडिकल टुरिजम हब’ बनेका भारतका ठूला अस्पतालमा पुग्नेको संख्या त्यत्तिकै छ । डा. प्रसन्नलाई वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) को मेडिकल कलेजमा पोस्ट ग्र्याजुएट (पीजी) गर्दा अनुभव भयो, “म सही फिल्डमा आएको रहेछु । डाक्टरहरुमा रहेको क्लिनिकल नलेजको अभाव अवश्य पूरा गर्छु ।”

डाक्टरहरूमा हाल रहेको ‘क्लिनिकल नलेज’लाई अझै प्रभावकारी रुपमा पूरा गर्ने पनि विश्वास उनले लिएका छन् । गेट वेल सुनको सेवा प्रारम्भको अवसरमा स्वास्थ्य शिविर पनि चलाउँदा झन्डै ५ सय जना बिरामी विभिन्न समस्या लिएर आए । तिनका लागि परामर्श निःशुल्क गरिएको थियो भने ल्याब र फार्मेसीमा छुट दिइएको थियो ।

एक अनुसन्धान प्रतिवेदन अनुसार नेपालका ग्रामीण क्षेत्रमा छाला रोगको व्यापक छ । त्यसमा मुख्यतः एक्जिमा, पिग्मेन्ट्री डिस्अडर्स, पी अल्बा, एक्नी (डण्डिफोर), युट्रिकेरिया (डाबर), मोल्स एन्ड लम्पस (मुसा र कोठी र मासुको डल्लो), प्रुराइटिस (चिलाउने), भाइरल इन्फेक्सन, पायोडर्माज र फंगल इन्फेक्सन (दाद) आदि छन् । जाडो र गर्मी मौसम अनि पहाड, तराई, हिमाल आदि भौगोलिक रुपमा बेग्लाबेग्लै समस्या छन् ।

अब त्यसमा चिन्ता लिनु पर्दैन । गेट वेल सुनमा मुखका चाया, पोतो, दाग र धब्बा हटाउने, एसटीडी क्लिनिक, लेप्रोसी म्यानेजमेन्ट, पीआरपी, क्रेयोथेरापी, केमिकल पिल, पेडियाट्रिक्स, रगतसम्बन्धी सबै रोग, क्यान्सर उपचार उपलब्ध छ ।

यहाँ बुटोक्स, फिलर्स, हेयर ट्रान्सप्लान्ट, लेजर, माइक्रोडर्माब्रेसन, माइक्रो निडिङका प्रविधि उपलब्ध छ । यहाँ रहेका कतिपय अत्याधुनिक प्रविधि र सेवा नेपालमै नयाँ हुन् ।

डा. प्रसन्नको शब्दमा हाम्रो शरीरको झ्यालजस्तै हो छाला । मानिस कत्तिको स्वस्थ छ भन्ने छालाबाटै थाहा हुन्छ । विशेषज्ञहरुले बिरामीको छाला हेरेर नै मधुमेह, जन्डिस, क्यान्सर आदि कतिपय रोग पत्ता लगाइदिन्छन् । तर छालाको समस्या ख्याल नगर्ने धेरै हुन्छन् । अहिलेसम्म छाला रोगका झन्डै पाँच हजार प्रकार अनुसन्धानबाट पत्ता लागेका छन् ।

जनकपुरमा गेट वेल सुन किन त ? “धेरै मानिस छालाका कडा रोग पालेर बसेका छन् । एक त यसको उपचार पद्धति सर्वसुलभ छैन । उपचारका लागि कम्तीमा पनि एक महिनादेखि ६ महिनासम्मको समय लाग्छ । औषधि पनि विदेशी भएकाले सस्तो छैन,” डा. प्रसन्न भन्छन्, “मानिसहरु छालामा पनि ज्वरोको जस्तो एक हप्तामै रिजल्ट खोज्छन् । सही सल्लाहको अभावमा बिरामीले धेरै दुःख पाएका छन् ।”

डा. प्रसन्नकुमार झाको जनकपुरमा भगवान झा र ममताका प्रथम पुत्रका रुपमा सन् १९९० मा जन्मेका हुन् । उनको युकेजीसम्मको शिक्षा स्थानीय मदर टेरेसा बोर्डिङ स्कुलमा भयो भने इन्जिनियर पिताको जागिर सरुवासँगै काठमाडौँ आएपछि कक्षा १ देखि १० सम्म ज्ञानेश्वरको ग्यालेक्सी स्कुलमा पढे । मेधावी विद्यार्थी उनी कक्षा ८ देखि क्लास टपर थिए ।

डाक्टर बन्ने मनसुवाले उनले प्लस टु हिमालयन ह्वाइट हाउस कलेजमा बायोलोजी मुख्य विषय लिएर पढे । उनले प्लस टु पनि छात्रावृत्तिमा पढेका हुन् । कतिपय कुरा नघोकी उपाय थिएन । तर बुझ्ने क्षमता नभए घोकेर काम छैन भन्ने लाग्थ्यो उनलाई । कलेजमा बोर्ड टपरहरुको भीडभाड भए पनि उनी सेकेन्ड र्यांकमा रहे । उनले काठमाडौं मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस गरेका हुन् ।

एसएलसीमा जिल्ला टपर भएका उनका पिता भगवान झा डाक्टर बन्न चाहन्थे । तर घरेलु परिस्थितिले त्यो सपना पूरा गर्न पाएनन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा छात्रवृत्ति लिएर पढे । उनले आफ्नो अधुरो सपना जेठा छोरा प्रसन्नमार्फत पूरा गर्ने सोच्नु स्वाभाविकै थियो । उनी भन्छन्, “बुबाको सपनामात्र नभएर म आफैँ पनि डाक्टर बन्न चाहन्थें । भाइ प्रशान्तले भने बाबुको बाटो समाते । उनी कम्प्युटर इन्जिनियर छन् ।”
नभन्दै एमबीबीएसमा ६ हजार जना प्रतिस्पर्धीमध्ये उनी १६० जनाको र्‍यान्किङभित्र परे । पोस्ट ग्य्राजुएट (पीजी) का बेला भारतीय दूतावासको एसेसमेन्टमा सात—आठ हजार जनामध्ये नम्बर वन र्‍यान्कमा परे । ‘टपर्स च्वाइस’मा डर्मोटोलोजी पर्थ्र्यो, त्यसपछि रेडियोलोजी । तर पाएसम्म कसैले डर्मोटोलोजी छोड्दैनथ्यो । किनभने यसको स्कोप धेरै छ ।

डर्मोटोलोजीको जम्मा एउटा सिट थियो । उनले त्यही पाए । बीएचयूबाट क्लिनिकल डर्मोटोलोजीमा तीन वर्षे एमडी पूरा गरे । चर्मरोग, यौनरोग र कृष्ठरोगमा एमडी गरे पनि सौन्दर्यीकरणमा रहेका कमजोर पक्ष सुधार्नु थियो उनलाई । त्यसैले उनले जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स गरे । उनी भन्छन्, “क्लिनिकल डर्मोटोलोजीका लागि सौन्दर्य विशेषज्ञता नभईकन नहुने कुरा थियो ।” सोही क्रममा उनले भारतका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशनसमेत गरेका थिए ।

राम्रो देखिन या चिटिक्क बन्न मन नलाग्ने को होला ? अलिकति दाग भयो भने डाक्टरकहाँ पुग्छन् । ट्याटु रिमुभका लागि होस् या अनुहारमा चमक थप्न, डर्मोटोलोजिस्टकहाँ पुग्ने बढेका छन् ।

स्वस्थ छाला चाहनेहरुका लागि डाक्टर प्रसन्नका केही टिप्स छन्- बाहिर काममा निस्कँदा सन स्क्रिन यूभीए र युभीपी तथा मोस्चराइजिङ क्रिमको प्रयोग गर्नु राम्रो हो । अरु केही नभए टोपी वा सलले छोपे पनि सूर्यका किरणले सोझै असर गर्न सक्दैनन् । ननडिटर्जेन्ट (फिँज नआउने) क्रिमले फेसवास गर्नु उचित हो । छालाको चमकका लागि भिटामिन-ए जेल लगाए हुन्छ । राति अनुहारमा क्रिम दल्ने हो भने एक पिनभन्दा बढी दल्नु हुन्न । कसैलाई डन्डिफोरको समस्या छ भने दुग्धपदार्थ सेवन गर्दै नगर्ने ।

हरेक दिन स्याम्पू प्रयोग नगर्न पनि डा. प्रसन्नको सल्लाह छ । हप्तामा दुई पटकसम्म स्याम्पू प्रयोग गर्न सकिने उनको सुझाव छ । उनी भन्छन्, “पानी खानु राम्रो हो । तर पानी बढी वा कम खाएर छाला वा सौन्दर्यमा समस्या आउने भन्ने चाहिँ अहिलेसम्मका अनुसन्धानले प्रमाणित गरेका छैनन् ।”

*********

 



प्रतिक्रिया दिनुहोस्