खलङ्गा, १३ पुस: जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । त्यहाँका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।
जिल्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिकाभरका २० हजार बालबालिकालाई मोर्डना खोप लगाउन थालिएको कार्यालय प्रमुख सापकोटाले बताए । १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थी भर्नाका आधारमा तथ्याङ्क सङ्कलन गरी कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८०० बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ । हालसम्म दुई हजार २३२ बालबालिकालाई खोप लगाइसकिएको छ । खोप कार्यक्रम जारी छ ।
कम मात्रामा खोप प्राप्त भएकाले अझै बालबालिका खोप लगाउन छुट्ने देखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेशबहादुर शाहीले बताए । थप खोप माग गरेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । तातोपानी गाउँपालिकामा ५४१, गुठीचौरमा ३६९ लाई खोप लगाइएको छ । यस्तै, पातारासी गाउँपालिकामा एक हजार ८०० बालबालिकालाई खोप लगाउने लक्ष्य रहको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए ।
जुम्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाईसमेत मोर्डना खोप लगाइने भएको छ । जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टरमा अध्ययनरत १२ वर्षदेखि १७ वर्ष मुनिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताए । ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकासहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाउने निर्णय गरिएको छ ।
विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १७ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन आफू अध्ययनरत ट्युसन सेन्टरमा उपस्थित हुन आग्रहसमेत गरिएको स्वास्थ्य संयोजक महतले बताए । जुम्लामा सरकारले करिब १३ हजार मोर्डना खोप पठाएको छ । यहाँका आठ स्थानीयतहमा १२ हजार २५० डोज खोप वितरण गरिएको छ ।-रासस